सूचनाको शक्ति - The Power Of Information

        

मानव जातिलाई चन्द्रमामा पुर्‍याउने अभियानता कोलिन्सको निधन

एजेन्सी । मानव जातिलाई चन्द्रमामा पुर्‍याउने पहिलो अभियान एपोलो–इलेभेनका एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा बुधबार निधन भएको हो ।

कोलिन्सको निधनपछि अब एपोलो–इलेभेन मिसनको एकमात्र जीवित ‘क्रु’ सदस्य बज एल्ड्रिन छन् । ९१ वर्षीय एल्ड्रिनले कोलिन्सलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रद्धाञ्जली दिँदै लेखेका छन् ‘प्रिय माइक, तपाईं जहाँ रहे पनि तपाईंको ऊर्जाले हामीलाई सधैं भविष्यमा नयाँ उचाइ छुन प्रेरित गरिरहने छ ।’

अपोलो– ईलेभेन अभियान अन्तर्गत २० जुलाई १९६९ मा पहिलो पटक अन्तरिक्ष यान चन्द्रमामा उत्रिएको थियो । माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने उनका सहयोगी निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिन चन्द्रमामा ओर्लिएका थिए ।

चन्द्रमामा पहिलो पटक पाइला टेक्ने व्यक्ति उनै आर्मस्ट्रङ्ग थिए । एपोलो–इलेभेन का कमाण्डर आर्मस्ट्रङको भने ८२ वर्षको उमेरमा सन् २०१२ मा निधन भएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार ०९:१६