सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

देशभर अक्सिजन सिलिन्डर अभाव, भारतबाट रोकियो आपूर्ति

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण जुनसुकै अवस्थामा पुगे पनि देशभित्रकै उत्पादित अक्सिजनले पुग्ने सरकारले दाबी गरेको छ । भारतमा अक्सिजनको अभाव भएर धेरै सङ्क्रमितले ज्यान गुमाउनु परिरहेको भए पनि नेपालमा अक्सिजन ग्यास उत्पादनमा कुनै समस्या नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

अक्सिजन उत्पादनबारे आफूहरुले उद्योगीहरुसँग नियमित छलफल गरिरहेको भन्दै उनले नेपालमा चाहिने जति अक्सिजन देशभित्रै उत्पादन भइरहेको बताए । अक्सिजन प्लान्ट रहेका अस्पतालहरुमा पूरै उत्पादन गर्नुपर्ने र प्लान्ट नभएका अस्पतालले तत्काल अक्सिजन लिएर राख्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमको आग्रह छ ।

सरकारले देशभित्रकै उत्पादनले पुग्ने भने पनि देशभरका अस्पतालसम्म पुर्याउन भने सिलिन्डरको अभाव हुने देखिएको छ । सिलिन्डर पर्याप्त भए दैनिक ३० हजारभन्दा धेरै बिरामीलाई अक्सिजन दिन सकिने नेपाल अक्सिजन उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमल्सिनाले बताएका छन् ।

उद्योगीहरुले तत्कालै ३० देखि ४० हजार सिलिन्डर आयात गर्न पनि सरकारलाई सुझाव दिएका छन् । खाली भएको सिलिन्डर उद्योगसम्म पुर्याउने र उद्योगबाट अस्पतालसम्म पुर्याउन समय लाग्ने भएकाले धेरैजसो सिलिन्डर बाटोमै हुने र बिरामीको लागि थोरै मात्रै सिलिन्डर पुग्न सक्ने भएकाले तत्काल सिलिन्डर आयात गर्नुपर्ने देखिएको अक्सिजन ग्यास उत्पादक सङ्घको भनाइ छ ।

नेपालमा अहिले विभिन्न ठाउँमा २० वटा अक्सिजन उद्योग सञ्चालनमा छन् । पाँच ठूला उद्योगसँग झण्डै १२ हजार र अरु उद्योगसँग २ हजारका दरले अक्सिजन सिलिन्डर छन् । देशभर ९० हजार अक्सिजन सिलिन्डर रहेको अनुमान गरिए पनि यसको निश्चित लेखाजोखा भने भएको छैन ।

यसैबीच, सरकारले नेपालमा पिलक्विड अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध हटाइदिन भारतलाई पत्राचार गरेको छ । भारतीय पक्षले भने एक हप्ता पर्खन आग्रह गरेको छ । नेपालमा भारतको झारखण्डमा रहेको लिन्ड इन्डिया अक्सिजन प्लान्टबाट हरेक महिना १५० टन अक्सिजन आपूर्ति हुँदै आएको थियो । तर पछिल्लो समय भारतको केन्द्र सरकारले अक्सिजन निर्यातमा रोक लगाएको छ । अहिले भारतबाट लिक्विड अक्सिजन र सिलिन्डर आउन रोकिएपछि नेपाल सरकारले औपचारिक पत्र पठाएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार १३:३३