सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

डाक्टरको त्यो गुहार सुनिदिएको भए…

बाँके । २०७८ बैशाख ३ गते । जिल्ला प्रशासन कार्यालय, बाँकेको माथिल्लो हल । प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका संयोजक, सुरक्षा प्रमुखहरु र आठमध्ये ६ वटा पालिकाका प्रतिनिधिको उपस्थितिमा बैठक चल्दै थियो ।

बैठकमा भेरी अस्पताल, नेपालगन्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा.प्रकाशबहादुर थापा र डा.पारस पाण्डे आक्रामक रुपमा प्रस्तुत भइरहेका थिए । दुई डाक्टरले दोहोर्याई, तेहर्याई भन्दै थिए, ‘छिटो मान्छेको मुभमेन्ट रोक्नुपर्यो । विरामीको चाप बढ्यो । धान्न नसकिने अवस्था आउन थाल्यो ।’

डाक्टरद्वय हतास मुन्द्रामा थिए । त्यो दिन उनीहरुको कुराको सुनुवाई नै भएनभन्दा हुन्छ । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले तत्कालै लकडाउन गरिहालौँ भन्नेबाहेक अरुले खासै जोड गरेनन् । केहीले व्यवसाय चौपट हुन्छ भन्न थाले । भर्खरै जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले त्यो दिन डाक्टरद्वयको भनाइको गम्भीरता बुझेनन्, वा बुझ्न चाहेनन् ।

जिल्लामा आएको दुई दिनमात्रै भएकाले होला, प्रमुख जिल्ला अधिकारी गेलाल रणभुल्लमै थिए । भन्दै थिए, ‘आउने बित्तिकै मैले कसरी लकडाउन गरौँ ? केही दिन पर्खौँ, अवस्था हेरौँ ।’ बैठक सकियो । कुनै निर्णय भएन । बैशाख २ गतेसम्ममा मृतकको संख्या ५९ थियो । २ गतेको पछिल्लो हप्तामात्रै ३६६ जना संक्रमित थपिएका थिए । भेरीमा ३५ जनाको उपचार भइरहेको थियो ।

त्यो दिनको डाक्टरको सल्लाहलाई प्रमुख जिल्ला अधिकारीले मानिदिएको भए, अलि पहिले नै संक्रमणको चेन ब्रेक हुन सक्थ्यो कि ? जुन सल्लाहलाई प्रमुख जिल्ला अधिकारीले ९ गते आएर मान्नुपर्यो । अर्थात, ९ गते रातीदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरियो । यतिबेलासम्म संक्रमित एक हजार २६६ जना पुगेका थिए भने मृतकको संख्या ६७ पुगेको थियो ।

नौ गतेदेखिको नेपालगन्जभित्रको निषेधाज्ञाले थेग्न नसक्ने अवस्था आयो । जिल्लाभरीकै मुभमेन्ट रोक्नुपर्ने भयो । डाक्टरद्वयले गम्भीरतापूर्वक आग्रह गरेको कुरा सोमबार राती १२ बजेदेखि कार्यान्वयनमा आएको छ । स्थानीय प्रशासनले सोमबार रातीदेखि २० गते रातीसम्म जिल्लाभरी नै निषेधाज्ञा जारी गरेको छ । यो निषेधाज्ञा वैशाख ३ गते नै गरिदिएको भए, यस्तो भयावह अवस्था आउदैनथ्यो कि ?

सम्बद्ध अधिकारीहरु नै भन्छन्, ‘मान्छेको मुभमेन्ट रोक्दा नै संक्रमण न्यूनीकरण हुन्छ ।’ बाँकेमा अहिलेसम्म ८७ जनाको मृत्यु भइसकेको छ । दुई हजारभन्दा बढी संक्रमित छन् । त्यो दिनको बैठकमा बसेका बीचमा कुराकानी चल्छ, त्यो दिन हामीले भनेको कुरा सुनिदिएको भए यत्तिको भयावह अवस्था आउँदैनथ्यो ।

बाँकेको यही ढिलाईलाई हेरेर बर्दिया जिल्लाले २७० जना संक्रमित पुग्दा नपुग्दै मुख्य–मुख्य बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । फोकलपर्सन नरेश श्रेष्ठ भन्छन्, ‘बाँकेले निषेधाज्ञा जारी गर्न ढिलाई गरेका कारण अवस्था भयावह भएको हो । हामीले बेलैमा निषेधाज्ञा जारी गरेका छौँ ।’ –देश सञ्चारबाट

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार ०६:५६