बाँके । बाँकेमा ७ बर्षिया बालिका र ७३ बर्षिया बृद्धासहित सोमबार १२५ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले संक्रमण दर बढेसँगै निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको जानकारी दिए ।
‘दैनिक ठुलो संख्यामा कोरोना संक्रमणमुक्त भएका ब्यक्तिहरुलाई डिस्चार्ज गरेर घर फिर्ता पठाउने काम भइरहेको छ,’ वलीले भने । बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आइसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका छन् । आइतबारसम्म बाँकेमा ५४ हजार ५७१ जनाको कोरोना परिक्षण गरिएकोमा ७ हजार ४९७ जनामा संक्रमितमध्ये सोमबार बिहानसम्म ५ हजार १२८ जना कोरोनामुक्त भएका छन् ।
बाँकेमा संक्रमितको संख्या ह्वात्तै बढेपछि यसले धेरैलाई चिन्तित बनाएको छ । नेपालगन्जस्थित भेरी अस्पताल तथा कोहलपुरस्थित मेडिकल कलेजमा कोभिडका लागि छुट्टाएका सम्पूर्ण बेडहरु पूर्णरुपमा भरीभराउ भएका छन् । कोरोना संक्रमणको अहिलेको दर घटाउन, जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नभएको भन्दै यहाँका स्वास्थ्यकर्मीहरुले सर्तकता अपनाउन आग्रह गरिरहेका छन् ।
।