सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद् बैठक बोलाइयो, कोरोना भाइरसबारे महत्त्वपूर्ण निर्णय हुने

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा कोरोनाभाइरसको नियन्त्रणका विषयमा छलफल केन्द्रीत हुने ती मन्त्रीको भनाइ छ । उनका अनुसार लकडाउन, निषेधाज्ञाका साथै सीमानाकामा आवतजावत कडाइका सन्दर्भका विषयमा छलफल र आवश्यक निर्णय हुनेछ ।

देशभर कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि अवस्था भयावह बन्ने अवस्था देखिएको छ भने अस्पतालहरुमा बिरामीको व्यवस्थापन गर्न असहज अवस्था सिर्जना हुन थालेको चिकित्सकहरुले बताएका छन् ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले देशभर कम्तीमा ३ साता लकडाउनको सिफारिस समेत गरेको छ भने पूर्वनिर्धारित परीक्षा पनि स्थगित गरिसकिएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख नाघिसकेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार ०८:४५