सूचनाको शक्ति - The Power Of Information

        

एमालेले नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने

काठमाडौ । नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा खनाल–नेपाल समूहका सांसदलाई कारबाही गर्नेबारे छलफल भएपनि तत्काल कारबाही नगरी ‘उपयुक्त समयमा गर्ने’ निर्णय भएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले बैठकमा नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको निष्कर्ष निकालिए पनि उनीहरुले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने बताउनुभयो ।

यसका लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको प्रवक्त ज्ञवालीको भनाइ छ ।

शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २ सय ६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो ।

यस्तै २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी समितिलाई दिइएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतवार १७:४३