बाँके । बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । बाँकेमा संक्रमित हुने र ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । स्थानीय, प्रदेश र संघीय सरकारले विरामीको व्यवस्थापनमा चासो नदेखाएको गुनासो बढ्दै गएको छ ।
संक्रमितको संख्या ह्वात्तै बढेपछि यसले धेरैलाई चिन्तित बनाएको छ । भेरी अस्पतालमा कोभिडका लागि छुट्टाएका सम्पूर्ण बेडहरु पूर्णरुपमा भरीभराउ भएका छन् । कोरोना संक्रमणको अहिलेको दर घटाउन, जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नभएको भन्दै स्वास्थ्यकर्मीहरुले सर्तकता अपनाउन आग्रह गरिरहेका छन् ।
कोरोनाको दोस्रो लहरको सबैभन्दा बढी चपेटामा बाँके जिल्ला परेपछि नेपालगन्ज उपमहानगरपालिकाको स्वागतयोग्य निर्णय बाहिरिएको छ । उपमहानगरपालिकाको आज बसेको नगर कार्यपालिकाको बोर्ड बैठकले कोरोना बिरामीको लागि तत्काल अक्सिजनसहितको ५० बेडको आइसोलेशन सेन्टर स्थापना गर्ने स्वागतयोग्य निर्णय गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका मेयर डा.धवलशम्सेर राणाको अध्यक्षतामा बसेको बोर्ड बैठकले आवश्यक जनशक्तिसहित नेपालगन्ज–२० राँझास्थित होटल ह्वाइट हाउसलाई अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमूख रामबहादुर चन्दले जानकारी दिए ।
उनले भने, ‘अहिले ह्वाइट हाउसमा सामान्य अवस्थामा आइसोलेशन सेन्टर चलिरहेको छ, अब त्यहाँ अक्सिजनसहितको आइसोलेशन सेन्टर स्थापना हुनेछ ।’ बाँकेमा निरन्तर सङ्क्रमितको सङ्ख्या बढिरहेकाले सर्वसाधारण नागरिकले जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा स्वास्थ्य शाखाका प्रमूख चन्दले जोड दिए ।
यसैबीच, भारतबाट आएका व्यक्तिहरुलाई सीमा नाकाबाटै घरसम्म पठाउन आजदेखि होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । अब भारतबाट आउनेहरुलाई जमुनाहमै होल्ड गरिनेछ । बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार जमुनाहा सीमा नाका नजिकै भन्सार कार्यालयको छेवैमा होल्डिङ सेन्टर सञ्चालनमा आएको छ ।
प्रहरी उपरीक्षक रानाले भने, ‘विगतमा जस्तै भारतबाट आएका व्यक्तिहरुलाई सम्बन्धित जिल्लामा पठाउनका लागि होल्डिङ सेन्टर सञ्चालन हुनेछ ।’ भारतबाट आउने व्यक्तिहरुको हेल्थ डेस्कमा कोरोना परीक्षण गरेर घर पठाउन बसहरु सीमामै पुग्नेछन् । गत वर्ष कोरोना संक्रमण बढ्दो क्रममा रहेको बेला होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो ।
नेपालगन्जमा सक्रिय संक्रमित र मृतकको संख्या उच्च
कोरोना संक्रमण तीब्ररुपमा फैलिएको बाँकेमा हाल २ हजार १२१ जना कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनसार सैबभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा १ हजार ४३१ जना सक्रिय संक्रमित रहेका छन् । उपमहानगरपालिकामा हालसम्म ४ हजार १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै संक्रमण जितेर २ हजार ६७२ जना डिस्चार्ज भएका छन् । संकमणका कारण हालसम्म उप–महानगरपालिकामा ४५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै कोहलपुर नगरपालिकामा हाल ३३२ जना कोरोनाका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् । कोहलपुरमा हालसम्म १ हजार ३४० जनामा कोभिड पुष्टि भएको छ भने १ हजार १ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । त्यहाँ १७ जना संक्रमितले हालसम्म ज्यान गुमाएका छन् ।
हालसम्म ५१५ जनामा कोरोना संक्रमण पुष्टि भएको खजुरा गाउँपालिकामा ३८८ जना निको भएर डिस्चार्ज भईसकेका छन् । खजुरामा ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यहाँ हाल ११८ जना कोभिडका सक्रिय संक्रमित उपचारमा छन् । बाँकेको बैजनाथ गाउँपालिकामा २४७ जनामा कोभिड पुष्टि हुदा हालसम्म १८५ जना निको भएर डिस्चार्ज भइसकेका छन् । हालसम्म पाँच जनाले ज्यान गुमाएको बैजनाथमा कोभिडका ५७ जना सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।
जानकी गाउँपालिकामा १७५ जनामा संक्रमण पुष्टि भएकोमा हालसम्म १२९ जना डिस्चार्ज भइसकेका छन् । हाल ४४ जना सक्रिय संक्रमित उपचारमा रहेको जानकीमा दुई जनाले ज्यान गुमाएका छन् । यस्तै ११६ जनामा संक्रमित भएको डुडुवा गाउँपालिकामा ७५ जना निको भइसकेका छन् भने ४१ जनाले स्वास्थ्य लाभ गरिरहेका छन् । हालसम्म डुडुवा गाउँपालिकामा कोभिडका कारण कसैको पनि ज्यान गएको छैन ।
कोभिडका कारण दुई जनाले ज्यान गुमाएको नरैनापुर गाउँपालिकामा अहिलेसम्म १३१ जनामा संक्रमण पुष्टि भएको छ । अहिले १३ जना संक्रिय संक्रमित रहेको त्यहाँ १२६ जना कोभिड जितेर डिस्चार्ज भइसकेका छन् । ३२१ जनामा हालसम्म कोभिड पुष्टि भएको राप्तीसोनारी गाउँपालिकामा २३३ जना संक्रमण जितेर डिस्चार्ज भएका छन् । तीन जनाले ज्यान गुमाएको राप्तीसोनारीमा हाल कोभिडका ८५ जना सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेको छन् ।
।