सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्ने बताएकी छन् ।

गोरखा भूकम्पको छैटौं स्मृतिका अवसरमा एक सन्देश दिँदै राष्ट्रपति भण्डारीले पुनर्निर्माणमा हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन् ।

नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण भूकम्प, बाढी पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको भन्दै उनले पर्यावरणमैत्री एवम् विपदको सामना गर्न सक्ने भौतिक संरचना निर्माणमा जोड दिएकी छन् ।

राष्ट्रपतिबाट जारी सन्देशमा लेखिएको छ, ‘भविष्यमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न निजी आवास, सार्वजनिक तथा सरकारी संरचनाहरुको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्न र भवनसंहिताअनुसार दिगो नवनिर्माण कार्यका लागि म सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु ।’

भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना पनि गरेकी छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतवार ०८:३३