सूचनाको शक्ति - The Power Of Information

        

सत्यपाटी समाचार प्रभाव

‘देह व्यापार’मा संलग्न होटल साउनीसहित १० जना पक्राउ, पाँच जनालाई मुद्दा

बाँके । बाँकेमा देह व्यापार अर्थात् यौन व्यवसाय फस्टाउँदै गएपछि प्रहरीले कडा निगरानी थालेको छ । बैशाख ३ गते सत्यपाटी अनलाइनमा ‘राँझा क्षेत्रका होटल देह व्यापारका कारखाना’ शीर्षकमा समाचार प्रकाशित भएपछि कोहलपुर प्रहरीले आफ्नो कार्य क्षेत्रभित्र कडा निगरानी थालेको हो ।

प्रहरीको निगरानी कै क्रममा सोमबार साँझ करिब ८ बजेतिर कोहलपुर नगरपालिका–१४ हवल्दारपुरस्थित एक होटलबाट साउनीसहित ६ जना पुरुष र ४ जना महिला पक्राउ परेका छन् । उनीहरुमध्ये ‘देह व्यापार’मा संलग्न होटल साउनीसहित ४ जना महिला र १ जना पुरुषलाई ‘देह व्यापार’ अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्र खनालका अनुसार पक्राउ परेकामध्ये अन्य ५ जना त्यस क्षेत्रका उद्योगहरुमा कार्यरत कामदार रहेको र उनीहरु ‘देह व्यापार’मा संलग्न नभएको पाइएपछि सम्झाईबुझाई गरेर छाड्ने तयारी छ । उनका अनुसार ‘देह व्यापार’मा संलग्नहरु ठाउँ परिवर्तन गर्दै यौनधन्दा चलाइरहेका छन् ।

‘राँझा क्षेत्रका होटल देह व्यापारका कारखाना’का रुपमा परिचित हुँदै आएका छन् । सत्यपाटी अनलाइनमा समाचार प्रकाशित भएसँगै ‘यौनकर्मी’हरु कोहलपुरका होटलहरुमा केन्द्रीत हुन थालेपछि प्रहरीले उनीहरुमाथि कडा निगरानी थालेको छ । राँझा क्षेत्रका होटलहरुमा यौन व्यवसाय फस्टाउन थालेपछि स्थानीयहरुले उक्त कार्य रोक्न माग गर्दै आएका थिए ।

बाँकेको नेपालगन्ज–२० राँझा क्षेत्रका होटलहरुमा कलिला किशोरीहरुलाई यौन कार्यमा लगाएको समाचार प्रकाशित भएसँगै अहिले ती होटलको सम्पर्कमा रहेका किशोरीहरुलाई हवल्दारपुर क्षेत्रका होटलहरुमा सिफ्ट गरिएको प्रहरी अनुमान छ । समाचार प्रकाशित हुनुअघि यौनकर्मीका लागि बुक हुने राँझा क्षेत्रका होटलअरु अहिले भने सुनसान बनेका छन् ।

खुलेआम यौनधन्दा चल्न थालेपछि आजित बनेका राँझा क्षेत्रका नागरिकहरु समाचार प्रकाशित भएसँगै होटलहरुमा हुने ‘देह व्यापार’मा कमि आएको बताउँछन् । ‘दुई/तीन दिनयता यहाँका होटलहरुमा हुने ‘देह व्यापार’ रोकिएको छ,’ नाम नछाप्ने शर्तमा एक जना स्थानीयले भने, ‘प्रहरी पनि सक्रिय बनेको छ । कति दिन रोकिन्छ, त्यो त हेर्न बाँकी नै छ ।’

होटल, रेष्टुरेन्ट, खाजाघर, गेस्ट हाउस र क्याबिनमा बालिका र किशोरीहरूलाई ‘ग्राहक रिझाउन’कै लागि राखिँदै आएको छ । उनीहरू प्रायः १४ देखि १७ वर्षसम्मका हुन्छन् । तर, उमेर सोध्यो भने मालिक र उनीहरू स्वयंले पनि साँचो बताउँदैनन् । धेरैजसो राम्रो कमाइ हुने आशामा बाँके, बर्दिया, सुर्खेत, दाङ्ग लगायत जिल्लाका ग्रामीण क्षेत्रबाट आएका हुन्छन् ।

यो समाचार पनि पढ्नुहोस्

सामाजिक विकृति : राँझा क्षेत्रका होटल ‘देह व्यापारका कारखाना’

‘होटलले केटीहरु त राखे पनि केही ग्राहकले बाहिरबाटै लिएर आउँथे,’ नाम नछाप्ने शर्तमा राँझास्थित एक होटलमा कार्यरत एक जना मजदुरले सत्यपाटी अनलाइनसँगको कुराकानीमा भने, ‘प्रायः जोडीहरु बाहिरबाटै आउने र रात बिताएर जान्थे । होटल सञ्चालकले प्रहरीले निगरानी बढाएको सूचना पाएपछि दुई/तीन दिनदेखि त्यो क्रम रोकिएको छ ।’

नेपालगन्ज उपमहानगरपालिका–२० राँझाका स्थानीयहरुले दिएको जानकारी अनुसार भेरी महाकाली (भुपु सैनिक) होटल, न्यू पूर्ण होटल एण्ड लज, भेरी महाकाली होटल, तुफान खाजाघर, झरना खाजाघर, एम.एस.एन. खाजाघर, गीता होटल, तृप्ती खाजाघर लगायतका होटल तथा रेष्टुरेण्टहरुमा खुलेआम ‘देह व्यापार’ हुँदै आएको थियो ।

होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूले किशोरीहरुलाई राम्रो कमाई हुने भन्दै फकाएर यो पेशामा लगाउने क्रम बढ्दो छ । कमाई हुने लोभमा किशोरीहरू यो पेशालाई सहजै स्वीकार गर्छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी खनालले भने, ‘कडा निगरानी थालेका छौं । गलत काम हुन दिन्नौं, त्यस्तो भएको भए देह व्यापार र चेलिबेटी बेचबिखनमा मुद्दा चलाउँछौं ।’

उनका अनुसार राँझा क्षेत्रमा रहेका होटलहरुमा कडा निगरानी गर्न प्रहरी टोली खटाइएको बताउँदै भने, ‘कानून अनुसार १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमा शारीरिक सम्पर्क गर्नु पनि जबर्जस्ती करणी गरेको ठहर्छ । किशोरी प्रयोग भएको भए हामी त्यस्ता होटल, रेष्टुरेण्ट सञ्चालकलाई कुनै हालतमा छाड्दैनौैं । सिधैं मुद्दा चलाएर अदालत पठाउँछौं ।’

उनीहरूलाई नै होटल, रेस्टुरेन्ट सञ्चालकहरूले विस्तारै यौन कार्यमा लगाउँछन् । त्यहाँ भाँडा माझ्ने लगायतका सरसफाइका काम गर्न पाका महिला या केटाहरूलाई राखिएको हुन्छ । ‘देह व्यापार’मा संलग्न महिला तथा किशोरीको एकिन तथ्यांक नभए पनि बाँकेमा यौन व्यवसायमा संलग्न महिला तथा किशोरीको संख्या तीन हजार बढी रहेको अनुमान छ ।

यौन व्यवसायमा अधिकांश छोडपत्र गरेर बसेका श्रीमान तथा श्रीमति, वैदेशिक रोजगारमा गएका श्रीमान अथवा श्रीमतिमात्र हैन कलेजमा पढ्ने किशोरीहरु संलग्न रहने गरेका छन् भने दैनिक गुजारा चलाउन मुस्किल हुन थालेपछि राम्रो कमाई हुने लोभमा ग्रामीण क्षेत्रका किशोरीहरु पनि देह व्यापारमा लाग्ने गरेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार १२:४०