काठमाडौं । नेपालको वायु प्रदूषण विश्वभरको तुलनामा कम हुँदै गएको छ ।
केही दिनअघि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेपछि वायु प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ ।
केही दिनअघि काठमाण्डौ विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा रहेको थियो । काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा प्रदूषण कम भएको भए पनि नेपालका केही ठाउँहरु अझै प्रदूषित देखिएका छन्। अतिहानिकारक अवस्था नरहेको तर केही ठाउँमा प्रदूषण भने कायमै रहेको वातावरणविद्हरुले बताएका छन् ।
धनगढी, हेटौँडालगायत ठाउँको प्रदूषण मापन गर्ने एक्यूआई अहिले पनि १ सयभन्दा धेरै रहेको छ । काठमाण्डौसहितका सहरको वायु प्रदूषण घटे पनि जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् ।
यसैबीच, आज पनि दिउँसोपछि केही पहाडी जिल्लामा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुसमान महाशाखाले जनाएको छ ।
दिउँसोपछि पश्चिमी क्षेत्रमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिएको महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेर बाँकी ठाउँको मौसम आंशिक बद्ली रहने मौसमविद्ले बताएका छन् ।
।