काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपनि वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट काठमाडौंमा सुरु हुँदैछ ।
रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ ।
रथयात्रा आज बेलुकी ६ बजे सुरू गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगेर राखिन्छ ।
असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।
रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ ।
३२ हात लामो रथलाई असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।
यसैबीच जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिनुभयो ।
स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको छ ।
एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन कोरोना महामारीबाट बच्ने प्रयाप्त व्यवस्था गरिएको समितिले जानकारी दिएको छ ।
गत वर्ष कोरोना महामारीबाट बच्न लकडाउन जारी गरिएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको थियो ।
सेतो मच्छेन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा हुने धार्मिक विश्वास छ ।
।