सूचनाको शक्ति - The Power Of Information

        

नापीको काम डिजिटलाइज हुनु असाधारण उपलब्धिः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मालपोत र नापीको काम डिजिटलाइज हुनु नापी प्रशासनमा असाधारण उपलब्धि भएको दाबी गर्नुभएको छ ।

काठमाडौंमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अब मालपोत तथा नापी कार्यालयहरु फेसलेस, पेपरलेस र क्यासलेस भएको जिकीर पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु । यो असाधारण उपलब्धि हो । यी तीन वटा लक्ष्य नापीमा मात्रै हैन, हरेक ठाउँमा बनाउँदै लैजान्छौं ।’

सरकारी कार्यालयहरु डिजिटल बनाउदै लगेको भन्दै उहाँले प्रविधिको विकासका साथै हस्तान्तरण पनि गरिने बताउनुभयो ।

नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणालीको शुरुवातसँगै अब इन्टरनेटको माध्यमबाट घरबाटै नक्शा प्रिन्ट र राजश्व बुझाउन सकिने नापी विभागले जनाएको छ ।

बिहीबारदेखि यो प्रणाली काठमाडौंको कलंकी, डिल्लीबजार र भक्तपुर नापी कार्यालयमा लागू भएको विभागले जनाएको हो ।

लगानी ल्याउने, टेक्नोलोजी विकास गर्ने र टेक्नोलोजी ट्रान्सफर गर्ने कुरामा विशेष जोड दिने भन्दै उहाँले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न सके आत्मनिर्भरताको शुरुवात हुने पनि बताउनुभयो ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार १७:५७