सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेका सिडियो ‘गेलाल’को अग्नी परीक्षा, सडकभरी कोरोना संक्रमित

बाँके । बाँके कोरोनाको उच्च जोखिममा छ । पहिलो चरणमा भन्दा अहिले छोटो समयमा धेरै संक्रमित भेटिएका छन् । भेरी अस्पतालको कोरोना कक्ष भरिएको छ । अन्यत्र आइसोलेशन छैन, संक्रमित राख्ने ठाउँ अभावमा छ, संक्रमित सडकभरी छन् । यस्तो जोखिम अबस्थामा बाँकेका शिवराम गेलालले सिडिओको जिम्मेवारी सम्हालेका छन् ।

यसअघिका कामचलाउ उपसचिव सिडओ रामबहादुर कुरूम्वाङ कोरोना संक्रमणको रोेकथाम तथा नियन्त्रणमै असफल सावित भैसकेका थिए । जसले जतिनै चाप्लुसी गरेपनि यसअघिका सिडिओ असफल भएरै कार्य सम्पादन सूचीमा कमजोर ठहर भई टिकापुरमा विभागीय कारवाही स्वरूप पठाइएका हुन ।

कोरोना रोकथाम तथा नियन्त्रण लगायतका बाँकेको समग्र शान्ति सुरक्षाका बिषयमा बाँके आएका सिडिओ शिवराम गेलालको पनि अग्नी परीक्षा सुरु भएको छ । यतिबेला दैनिक ४० देखि ६० को हाराहारीमा कोरोना संक्रमित भेटिरहेका छन । नागरिकको प्रभावकारी स्वास्थ्य परिक्षण गर्न र आइसोलेशनमा लैजानसमेत सम्बन्धीत निकायले चासो देखाएको छैन ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकासँगै अन्य गाउँपालिकाले आइसोलेशन बनाउनेतर्फ ध्यान दिएका छैनन । स्वास्थ्य कार्यालय पनि आइसोलेशन निर्माणसँगै कोरोना संक्रमितको व्यवस्थापनमा उदासीन देखिएको छ । नेपाल–भारत सिमा जमुनाहमा दैनिक एक हजारको संख्यामा नेपालीहरू नेपाल आइरहेका छन् ।

सबैको प्रभावकारी रूपमा स्वास्थ्य परिक्षण हुन सकेको छैन । यसले बाँकेमा मात्रै नभई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत प्रभाव देखाएको छ । त्यसो त कोरोना संक्रमण बढिरहेको बाँकेमा आएका सिडिओ शिवराम गेलाललाई पहिलो गाँसमै ढुङ्गा लागेको छ ।

आमनागरिकलाई सामाजिक दुरी कायम गर्न, र मास्क तथा सेनिटाइजर प्रयोग गर्न निर्देशन गर्ने सिडिओले पहिलो दिनमै स्वास्थ्य मापदण्ड उल्लघन गरेको देखिएको छ । बिहीबार सिडिओ कार्यालयमा सिडिओलाई विन्ती विसाउन पुगेका बाँकेका केही उच्च नागरिकले समेत स्वास्थ्य मापदण्डको उल्लघन गर्दै सामाजिक दुरी कायम नगरी सामुहिक फोटो खिचेर बहादुरता प्रदर्शन गरेका छन ।

सिडिओ गेलालमात्रै होइन नेपालगन्जका मेयर डाक्टर धवलसम्सेर राणा, बाँकेका एसपी ओमबहादुर राना, सहायक सिडिओ, सशस्त्रका एसपी लगायत आफुलाई अभियान्ता र नागरिक अगुवाको दर्जामा राख्ने कानून व्यवसायी र अधिकारकर्मीले समेत सिडिओसँग फोटो खिचाउने निहुँमा स्वास्थ्य मापदण्ड उल्लंघन गरेको देखिएको छ ।

अझ नागरिक समाज र स्थानीयको त कुरै छोडौं, फोटो खिच्ने निहुँमा यहाँका स्वास्थ्यकर्मीले समेत सामाजिक दुरी कायम नगरेको भेटिएको छ । काम देखाउने हेतुले कोरोना फोकल पर्सन तेज ओलीसहित भेरी अस्पतालका केही स्वास्थ्यकर्मीले सामाजिक दुरी कायम नगरी स्वास्थ्य मापदण्ड उल्लघन गरेका छन् । मास्क लगाउँदैमा स्वास्थ्य मापदण्ड सतप्रशित पुरा हुँदैन । यसका लागि मास्क सँगै सेनिटाइजर प्रयोग एक आपसमा दुरी कायम गर्नपर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार १७:५८