सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

एक साताका लागि नेपालगन्जका विद्यालय बन्द

बाँके । कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकाभित्रका शैक्षिक संस्थाहरु भोलि शुक्रवारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । नेपालगन्जमा पछिल्लो समय कोरोना संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।

नगर प्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा बसेको नेपालगन्ज उपमहानगरपालिका विपद् ब्यवस्थापन समितिको आज बसेको बैठकले एक साताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।

बैठकले भारतबाट आउनेहरुको सीमा नाकामा स्वास्थ्य परिक्षण तथा एन्टिजेन परिक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ । मास्क अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाई गर्ने निर्णय भएको छ । मास्क नलगाई कारोबार गर्ने पसल ब्यवसाय कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर मास्क नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार १६:२४