सूचनाको शक्ति - The Power Of Information

        

खजुरा क्यान्सर अस्पताल

पाँच महिनामा ९५ शल्यक्रिया

अस्पतालले गुणस्तरीय सेवा दिन थालेपछि बिरामीमा अस्पतालप्रति विश्वास बढेको छ ।

बाँके । पश्चिम नेपालकै पहिलो सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले पाँच महिनाको अवधिमा सानाठूला गरी ९५ वटा शल्यक्रिया गरेको छ । मङ्सिरदेखि शल्यक्रिया सेवा सुरु गरेको सो अस्पतालले पाठेघर, पित्तथैली, स्तन क्यान्सर र एपेन्डिक्स गरी ९५ जनाको सफल शल्यक्रिया गरेको अस्पतालका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद आचार्यले बताए ।

उनले तीमध्ये केही बिरामी निकै जटिल किसिमको समस्याबाट ग्रसित भएको जनाउँदै शल्यक्रिया सुरु गरिएपछि धेरै बिरामी आउन थालेको बताए । खजुरामै शल्यक्रिया सुरु गरिएपछि पश्चिम नेपालका बिरामीको चितवन र भारतको लखनऊ जानुपर्ने बाध्यता सकिएको पनि निर्देशक डा.आचार्यले बताए । उनले अझै पनि राम्रोसँग प्रचार–प्रसार हुन नसकेकाले धेरै बिरामी भारतको लखनऊ र चितवनको भरतपुर जाने गरेकाले प्रचार–प्रसार पनि बढाउन थालिएको बताए ।

सो अस्पतालमा क्यान्सर पत्ता लगाउने हिस्टोप्याथोलोजी सेवा पनि यही चैत महिनादेखि सुरु गरिएको छ । चैत १ गतेदेखि हिस्टोप्याथोलोजी सेवा सुरु भएको जानकारी गराउँदै अस्पतालका निर्देशक डा.आचार्यले चैत २० सम्म १५ जनाको क्यान्सर रिपोर्ट आइसकेको बताए । उनले पहिले दैनिक २५ जना मात्र आउने गरेकोेमा हाल करिब १०० जनाले सेवा लिन थालेको बताए । गत एक महिनामा एक हजार ३२६ जना बिरामीले उपचार सेवा लिएको पनि अस्पतालले जनाएको छ ।

‘अस्पतालले गुणस्तरीय सेवा दिन थालेपछि बिरामीमा अस्पतालप्रति विश्वास बढेको छ,’ निर्देशक आचार्यले भने । बिरामी बढेपछि अस्पतालले रेडियोलोजी सेवा दिने समय बढाएको छ । दैनिक २ बजेदेखि उक्त सेवा दिँदै आएको अस्पतालले अहिले बिहान ९ः३० बजेदेखि बेलुकी ५ बजेसम्म सेवा दिन थालेको छ । अस्पतालका निर्देशक डा.आचार्यका अनुसार अस्पतालले चैत १ गतेदेखि क्यान्सरको ओपीडी सेवा हप्ताको दुई दिन मङ्गलबार र बिहीबार भेरी अस्पतालमा पनि सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार १६:३०