सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

शून्यमा झरेको सङ्क्रमण फेरि तीव्र, २४ सिकिस्त, चार जना भेन्टिलेटरमा

मास्क र सामाजिक दूरी कायम गर्ने कुरामा भने निकै बेवास्ता भइरहेको छ । 

फाइल तस्वीर

बाँके । बाँकेमा फेरि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । एकपटक शून्यमा झरेको कोरोना सङ्क्रमण केही दिनयता फेरि बढ्न थालेको छ । सीमा क्षेत्रका कारण कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य अधिकारीहरू बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार पछिल्लो केही दिनदेखि बाँकेमा सङ्क्रमण तीव्र छ ।

बाँकेमा हालसम्म कोरोना सङ्क्रमितको संख्या १९६ पुगेको छ । भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण बढेसँगै सीमावर्ती जिल्ला बाँकेमा पनि सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सूचना अधिकारी तेज वलीका अनुसार चैतमा मात्रै बाँकेमा १९६ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

सूचना अधिकारी वलीका अनुसार अहिले पहिलेभन्दा अलि फरक प्रकृतिको सङ्क्रमण छ । उनले भने, ‘नयाँ भेरियन्ट हो वा पुरानै हो भन्न सक्ने अवस्था छैन तर सङ्क्रमण तीव्ररुपमा फैलिएको छ ।’ कोरोना सङ्क्रमण बढे पनि स्थानीय प्रशासनले सीमापारी रुपैडिया बजारमा सामान्य किनमेलका लागि जान रोक लगाएको छ ।

नेपालगन्ज लगायतका सहरी क्षेत्रमा भीडभाड बढी भएका कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना हुनुपर्ने स्थानीयको माग छ । नेपाल–भारत सीमामा परीक्षणको दायरा बढाउन सरोकारवालाहरूको माग छ । भारतमा दोस्रो चरणको सङ्क्रमण फैलिएका विभिन्न स्थानबाट पछिल्ला १७ दिनमा फर्किने नेपालीको सङ्ख्या नौ हजारभन्दा बढी छ ।

तीमध्ये सिमानामा छ हजारको सामान्य स्वास्थ्य परीक्षण र १०९ जनाको मात्र कोरोना परीक्षण गरिएका थियो । यही चैत ११ गतेदेखि नाकामा हेल्थ डेस्क राखेर भारतबाट फर्किनेहरूको एन्टिजेन परीक्षण सुरु गरिएको थियो । सङ्क्रमण भेटिनेमा भारतको महाराष्ट्र र गुजरातबाट आउने नेपालीहरू छन् ।

महाराष्ट्र, गुजरात र पञ्जाबबाट फर्किनेलाई लक्षित गरेर सिमानामा परीक्षणको दायरा नबढाउने हो भने नेपालको अवस्था फेरि पनि भयावह हुन सक्ने बाँकेबासीको माग छ । अहिले कम संख्यामा परीक्षण भइरहेको धेरै सङ्क्रमितहरू नेपाल प्रवेश गरेर समाजमा घुलमिल गरेको देखिएकाले अवस्था धेरै जटिल हुनसक्ने नागरिकहरुको भनाई छ ।

नेपालगन्ज मेडिकल कलेजका वरिष्ट फिजिसियन डा.आसिम किदवाइले पनि भारतबाट आउनेमध्ये बढीभन्दा बढीको परीक्षण गर्नुपर्नेमा जोड दिँदै त्यसो नगरिए ठूलो समस्या हुन सक्ने बताए । उनले शङ्कास्पद ठाउँहरूबाटै यतिधेरै जना फर्किए पनि १०९ जनाको मात्र परीक्षण हुनुले कुनै फाइदा नहुने बताए ।

बाँकेलाई केन्द्रबाट तीन हजार थान एन्टिजेन परीक्षण किट प्राप्त भएको जनाउँदै स्वास्थ्य कार्यालयले सोहीमध्येबाट एक हजार थान नेपालगन्ज उपमहानगरलाई दिइएको जनाएको छ । हालका लागि एन्टिजेन परीक्षण किटको अभाव नरहेको प्रस्ट पार्दै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले आवश्यक परे केन्द्रसँग अरू पनि माग गरिने बताए ।

खुला सीमा नाकाका कारण आउजाउ सहज भएको र भारतको महाराष्ट्र, गुजरात र पञ्जाबलगायतका अत्यधिक जोखिमपूर्ण ठाउँबाट फर्केका नेपालीहरू समेत परीक्षणबिनै देशभित्र प्रवेश गरिरहेकाले जोखिम बढेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

सङ्क्रमित भएकाहरुमध्ये भेरी अस्पतालको कोभिड वार्डमा ५४ जनाको उपचार भैरहेको अस्पतालले जनाएको छ । तीमध्ये २४ जनाको अवस्था सिकिस्त रहको जनाउँदै भेरी अस्पताल नेपालगन्जका प्रमुख डा.प्रकाशबहादुर थापाले चार जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताए ।

अन्य २० जनाको पनि आइसियुमा राखेर उपचार भैरहेको डा.थापाले बताए । सङ्क्रमण बढ्ने क्रम बढ्दै गएपछि स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्नुपर्नेमा सबैतिर जोड दिइरहेको उनले बताए । भारतमा अति नै तीव्र गतिमा सङ्क्रमण फैलिंदै गएकोले सिमानामा विशेष किसिमको व्यवस्था गर्नुपर्ने माग अधिकांश जिल्लावासीको छ ।

बाँकेका कोरोना फोकल पर्सन ओलीका अनुसार सङ्क्रमितहरू यसैगरी बढ्दै गए भेरी अस्पतालको आइसोलेसनले धान्न नसक्ने हुनसक्छ । उनले भने, ‘समयमा ध्यान नदिने हो भने अवस्था गम्भीर हुन सक्छ ।’ उनले बाँकेमा चैत महिनाको शुरुबाटै सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि हाल आएर तीव्र गतिमा कोरोना फैलिरहेको पाइएको बताए ।

मास्क र सामाजिक दूरीमा बेवास्ता

भारतसँग सिमाना जोडिएको बाँकेमा हाल आएर फेरि सङ्क्रमित भेटिने क्रम तीव्र हुन थालेको छ । तर पनि मास्क र सामाजिक दूरी कायम गर्ने कुरामा भने निकै बेवास्ता भइरहेको छ । बाँकेका कोरोना सम्पर्क व्यक्ति तेज ओलीले भारतको महाराष्ट्र, गुजरात र पञ्जाब लगायतका स्थानबाट नेपालीहरू फर्किने क्रम बढेसँगै बाँकेमा सङ्क्रमितको सङ्ख्या पनि वृद्धि हुँदै गएको बताए ।

सङ्क्रमित भेटिने क्रम बढेपछि नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालमा पनि आइसोलेसन वार्ड तयारी अवस्थामा राख्न निर्देशन दिइएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका बजारमा हिँडडुल गर्ने ९० प्रतिशतभन्दा बढीले न त मास्क लगाउने गरेका छन् न त सामाजिक दूरी नै कायम गर्ने गरेका छन् ।

सार्वजनिक साधनहरूमा यात्रा गर्ने, बजारमा किनमेलका लागि भीडभाड गर्ने र अन्य विभिन्न कामले बाहिर निस्कनेहरूमध्ये मुस्किलले १० प्रतिशतले मात्रै मास्क लगाएको र सामाजिक दूरी कायम गर्न खोजिएको देखिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सबैलाई मास्क लगाउन र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको जनाउँदै पालना नगर्नेलाई कडाइ गर्ने योजना बनाइरहेको बताएका छन् । सामाजिक दूरी कायममा बेवास्ता गर्दै मास्क नलगाएमा स्थिति भयावह हुनसक्ने स्वास्थ्यकर्मीहरुको चेतावनी छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार १५:४३