सूचनाको शक्ति - The Power Of Information

        

खै प्रहरी निगरानी ?

टिकटक बनाउनेको भीडले जोखिम, कर्णाली पुलबाट हाम फाल्दा एक बेपत्ता

कैलाली । प्रहरी प्रशासनको लापरबाहीका कारण पछिल्लो समय कैलालीको चिसापानी पुल क्षेत्रमा जोखिम बढेको छ । ट्राफिक चेकजाँचमा चोरजस्तै लुकेर जोखिमयुक्त बाटोमा नागरिकलाई सास्ती दिने प्रहरीले पछिल्लो समय चिसापानी पुल आसपासमा निगरानी र अनुगमन गर्न छाडेपछि जोखिम बढेको हो ।

प्रहरीको निगरानी शून्य देखिएपछि हिजोआज चिसापानी पुलमा टिकटक भिडियो बनाउने, गर्मी छल्न पुलमाथिबाट नदिमा हाम फाल्नेको बाक्लो भीड लाग्ने गरेको देख्न सकिन्छ । यसै भीडका कारण चिसापानी पुलमा सवारी आवागमन अस्तव्यस्त बन्दै गएको छ भने निगरानीका लागि राखिएका सीसीटीभीसमेत काम नलाग्ने अवस्थामा पुगेका छन् ।

यस क्षेत्रमा प्रहरी भने सम्भावित जोखिम युक्त सडकमा ट्राफिक चेकजाँचका नाममा सास्ती दिन दिनहुँ खटिएको देख्न पाइन्छ । पुल निरीक्षण र रेखदेखका लागि राखिएका चौकीदारको समेत अहिले अत्तोपत्तो छैन । सरकारले ट्राफिक व्यवस्थापन र सुरक्षा संयन्त्र मजबुत पार्न हरेक ईलाका प्रहरी कार्यालयमा ट्राफिक बिटको समेत व्यवस्था गरेको छ ।

तर ट्राफिक प्रहरी भने कमाउधन्दाका लागि सहायक राजमार्ग र सम्भावित जोखिम मानिने जंगल क्षेत्र र त्यस आसपासका पुल क्षेत्रमा जोखिम बढाएरै चेकजाग गर्छन् । कानुनअनुसार ट्राफिक चेकका क्रममा १०० मिटर क्षेत्रमा अगाडि ट्राफिक चेकिङको बोर्ड लाउनुपर्ने हुन्छ । तर यहाँ यसो कही पाइँदैन ।

शनिबार मात्रै कर्णाली चिसापानी पुलबाट हाम फलेर एक किशोर बेपत्ता भएका छन् । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.२ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् । उनले शनिबार दिउसो कर्णाली पुलबाट हाम फालेका कैलाली प्रहरीले बताएको छ । उनको खोजी कार्य जारी रहेकोे प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार १८ वर्षिय लोकेश प्याकुरेल घाइते भएका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर १ का प्याकुरेललाई उपचारका लागि नेपालगन्ज लगिएको छ । उनको छातीमा चोट लागेको छ । उनीहरुसँगै नदीमा हाम फालेका १७ वर्षिय बिरेन्द्र सिंह भने सकुसल रहेका छन् । शनिबार दिउँसो करिव ३ बजेतिर कैलालीको लम्कीमा रहेको ब्राईट फ्युचर ईङलिस मिडियम स्कुलमा कक्षा १० मा अध्यानरत ८ जना विद्यार्थी चिसापानी घुम्न गएका थिए ।

जसमध्ये पाँच जना पुलको छेउमा फोटो खिचिरहेका र ३ जनाले गर्मी छल्न पुलको बीच भागबाट हाम फालेको बताइएको छ । यही सूचना पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दिर्ग बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीले दुई जनालाई सकुसल उद्दार थियो । उनीहरूलाई ¥याप्टिङ बोटको सहायताले उद्दार गरिएको हो । उदार गरिएकाहरु लम्कीचुहा नगरपालिका–१ थकालीपुर बस्ने केशब सिंहका छोरा वर्ष १७ का वीरेन्द्र सिंह, थपालीपुरकै देवराज प्याकुरेलका छोरा वर्ष १८ का लोकेश प्याकुरेल छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतवार ०६:३४