सूचनाको शक्ति - The Power Of Information

        

चिया गफमै पाए विपन्न परिवारले घर


बाँके । पत्रकारदेखि अधिकारकर्मीहरुको चिया गफबाट शुरु भएको अतिविपन्नलाई घर बनाउने अभियानले बाकेले सार्थकता पाएको छ । अति विपन्न कोष अन्तरगत जिल्लामा रहेका बिपन्न परिवारका सदस्यहरुलाई घर बनाउन थालिएको छ । दुई कोठा, एउटा भान्सा रहने टिनले छाएको पक्की घर निर्माण भइरहेको छ ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले जिल्लामा अति गरिब परिवारका सदस्यहरुलाई आश्रयकालागि घर उपलब्ध गराउने बिषयमा छलफल चलाएका थिए । त्यो छलफललाई अधिकारकर्मी सुरेन्द्रदिप कार्की, सन्ञ्चारकर्मी हेमन्तराज काफ्ले, बामदेव न्यौपाने लगायतले सघाएका थिए ।
अति विपन्न कोष निर्माणसँगै सामाजिक सञ्जालमा घर बनाउने अभियानमा सघाउन आग्रह गरेपछि देश, बिदेशमा सहयोग गर्नेहरुको संख्या बढ्दै गएको अभियानका परिकल्पनाकार ठाकुरसिंह थारुले बताए । उनका अनुसार, बाँकेको हिरमिनियाको कालाबन्जारका अति विपन्न परिवारका सदस्यहरुलाई लागि घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
‘एक टुक्रा जग्गा भएका तर घर बनाउन नसकेका परिवारका सदस्यहरुलाई छानो दिएर सहयोग गर्न सकिन्छ की भनेर अभियान शुरु गरेका हौं,’ थारुले भने, ‘सहयोगी मनहरु भेटिएपछि उत्साहित बनेका छौं ।’ एउटा घर बनाउन तीन लाखसम्म लाग्ने बताउ“दै थारुले हालसम्म अढाई लाखसम्म रकम जम्मा भएको बताए ।
उनले भने, ‘कुनै स्वार्थ बिना अभियान चलाएका छौं ।’ सहयोगी हातहरुबाट जम्मा भएको रकम अति विपन्न कोषमा जम्मा गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरिँदै आएको छ । एक वर्षअघि सुरु भएको अभियान निरन्तर चल्ने अभियानका सहयोगी मध्येका एक पत्रकार काशीराम शर्माले बताए । प्रस्तुती – कमल डाँगी

प्रकाशित मिति : २५ माघ २०७४, बिहीबार ०६:१४