सूचनाको शक्ति - The Power Of Information

        

जसपा र सरकार सहमति नजिक, कार्यदलको निर्णायक बैठक आज

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी सत्ता साझेदारीका लागि सहमति नजिक पुगेका छन् ।

सहमतिलाई अन्तिम रुप दिन वार्ताका लागि गठित कार्यदल आज निर्णायक बैठकमा बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् । जसपाको माग संवोधन गर्न प्रधानमन्त्री सहमत भएसँगै दुई दल बीच सत्ता समीकरणको सम्भावना प्रबल देखिएको हो ।

सरकारले जसपाका माग सम्बोधन गर्न थारू कल्याणकारी सभासँग वार्ता थालेको र यसले सहमतिको आशा पलाएको जसपा नेताहरुले बताएका छन् । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सकारात्मक देखिएका छन् ।

जसबाट ओली सरकारको निरन्तरताको संभावना अझ बलियो बन्दै गएको छ। प्रतिनिधिसभामा एमालेका १२० सांसद छन् भने जसपाका ३२ जना । २७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ जना भए बहुमत पुग्छ ।

जसपा र एमाले मिले सरकारलाई सुविधाजनक बहुमत हुन्छ  तर एमालेको माधवकुमार नेपाल पक्षले फ्लोरक्रस गरे वा जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले असहयोग गरे सरकारलाई बुहमत जुटाउन सहज हुने देखिदैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पनि नयाँ सत्ता समीकरण निर्माणका लागि आज जसपा नेताहरुसँग निर्णयक वार्ता गर्ने बताइएको छ ।

सत्ता समिकरणको साँचो मानिएको जनता समाजबादी  यतिवेला नयाँ सत्ता समीकरण निर्माणका लागि तानातानमा परेको छ । जसपा भित्र महन्थ र महतो पक्ष ओलीलाइ साथ दिनुपर्नेमा देखिन्छन् भने उपेन्द्र यादव भने ओलीलाई साथ दिन नसकिने अडानमा छन् ।

ओली सरकारमा जाने  वा नजाने विषयमै जसपा विभाजन हुन सक्ने  विश्लेषण गरीएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार १०:१६