सूचनाको शक्ति - The Power Of Information

        

उम्मेदवारको चुनाव खर्च दुई सय रुपैयाँ !


बाँके । निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेद्वारले तोकेको सीमाभन्दा बढी खर्च गरेका उदाहरणहरु छन् । तर बाँकेमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेद्वारी दिएका मध्ये एक जना उम्मेदवारले आफ्नो चुनावी खर्च दुई सय रुपैयाँ सार्वजनिक गरेका छन् ।
क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीका अनुसार नेपाल मजदुर किसान पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा २ बाट प्रदेशसभाका उम्मेदवार समिरकुमार गुरुङले निर्वाचन अवधिभर दुई सय रुपैयाँ खर्च भएको भन्दै क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण प्रस्तुत गरेका छन् ।
गुरुङले रिक्सा भाडावापत चुनाव अवधिभर दुईसय रुपैयाँ खर्च भएको बताए । नेमकिपाका उम्मेदवारको धरौटी रकम र प्रचार सामाग्री समेत केन्द्रबाट प्राप्त भएको थियो । चुनावमा अत्याधिक खर्च भएको गुनासो भए पनि साना पार्टीका उम्मेदवारको खर्च भने अत्याधिक न्यून देखिएको छ । देशभक्त गणतान्त्रिक मोर्चाका प्रदेशसभा २ (ख)का उम्मेदवार दिनेश श्रीवास्तवले चुनावमा दुई हजार रुपैयाँ खर्च भएको विवरण क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाएका छन् ।
यसैगरी नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रदेशसभा ३ (क) का उम्मेदवार भक्तबहादुर बुढाको चुनाव खर्च दुई हजार २२७ रुपैयाँ रहेको छ । यसैगरी राजपाका उम्मेदवार सोनु गुरुङको चुनाव खर्च तीन हजार रुपैयाँ रहेको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार प्रमुख राजनीतिक दलका उम्मेदवारहरुको खर्च भने अत्याधिक छ ।
बाँके क्षेत्र नम्बर ३ बाट विजयी नेकपा एमालेका उम्मेदवार नन्दलाल रोकायको चुनाव खर्च २२ लाख ७५ हजार ४०५ रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको छ । यसैगरी नेपाली काङ्ग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्रीको खर्च विवरण २२ लाख ५१ हजार ४५० रुपैयाँ रहेको छ । कानुन अनुसार प्रतिनिधिसभा उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो ।

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार ०८:०४