काठमाडौं । नेपाल, बंगलादेश र किर्गिस्तानबीचको त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
काठमाडौंको दशरथ रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने छन् ।
नेपालले किर्गिस्तानसँग चैत १२ गते खेल्ने छ । त्यस्तै नेपालले बंगलादेशसँग चैत १४ गते शनिबार खेल्ने तालिका तय भएको छ ।
राउण्ड रोबिन लिगको आधारमा शीर्ष दुई टिमले फाइनलमा चैत १६ गते सोमबार उपाधिका लागि खेल्नेछन् ।
उपाधि विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ । प्रतियोगिता अघि हिजो भएको पत्रकार सम्मलनमा तीनै देशका खेलाडी तथा कप्तानहरुले उपाधि जित्ने दावी गरेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्ने बताउनुभयो ।
उहाँले घरेलु मैदानमा हुने प्रतियोगिताले आफूहरुलाई फाइदा पुग्ने पनि बताउनु भएको छ ।
उपकप्तान रोहित चन्दले घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको बताउनुभयो ।
नेपाली टिमको कप्तानी भने किरण चेम्चोङले गर्ने भएका छन् ।
।