सूचनाको शक्ति - The Power Of Information

        

समाचार प्रभाव

मेडिकल कलेजमा असुलीधन्दा मच्चाउने घुमुवा प्रहरी हवल्दार र जवानको सरूवा

बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विगत सात बर्षदेखि विचौलियाको काम गर्दै आएका प्रहरी हवल्दार भुवन शाह र उनका सहयोगी घुमवा प्रहरी जवान जितेन्द्रजङ्ग केसीलाई कारवाहीसहितको सरूवा गरिएको छ ।

कलेजको सुरक्षा कमाउण्डमा खटिएका हवल्दार भुवनले सात बर्षदेखि विचौलियाको काम गर्दै आएको र घुमुवा केसीले उनलाई सहयोग गरिरहेको समाचार यसअघि सत्यपाटी डटकमले प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि उनीहरुलाई कारवाहीसहितको सरूवा गरिएको छ ।

अनुसन्धानका क्रममा उनीहरू दोषी ठहर भएपछि विभागीय कारवाहीसहित त्यहाँबाट अन्यत्र सरूवा गरिएको बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनका अनुुसार हवल्दार भुवन शाहको जाजरकोट र घुमुवा जितेन्द्र केसीलाई पनि जिल्ला बाहिर सरूवा गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

मेडिकल कलेजबाट अन्यत्र रिफर हुने विरामीबाट समेत आफ्नो र आफू नजिकको अस्पताल र मेडिकलमा पठाएर हवल्दार शाहले गतिलै कमिशन लिने गरेको एक एम्बुलेन्स चालक बताउँछन् । उपचारका लागि आएका घाइते तथा बिरामीलाई रिफर गर्नुपरेमा प्रहरी हवल्दारले भारतको लखनउस्थित सामरा हस्पिटलमा रिफर गर्न लगाउने गरेका छन् ।

उक्त हस्पिटलबाट समेत मोटो रकम कमिशन लिने गरेको र घाइते तथा बिरामी तथा मृतकको शव सम्बन्धीत स्थानमा लैजाँदा बाटोको दुरी हेरी ५०० देखि १० हजारसम्म हवल्दारलाई कमिशन दिँदै आएको उनीहरू बताउँछन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतवार १०:०६