सूचनाको शक्ति - The Power Of Information

        

समाचार

होटल म्याक्सले पत्रकार बोलाएर दुई घण्टा कुराएपछि कार्यक्रम बहिस्कार

सिटिजन र मेगा बैंक नै समयप्रति उदासीन

बाँके । बाँकेको कोहलपुरमा रहेको म्याक्स होटलमा आयोजित एक कार्यक्रममा समयलाई वेवास्ता गरेको भन्दै केही पत्रकारले कार्यक्रम बहिस्कार गरेका छन् । होटल म्याक्ससँगै आयोजक बनिरहेका सिजिजन र मेगा बैंकका कर्मचारी पनि समयप्रति एकदमै उदासीन बनिरहेका थिए ।

हरेक कार्यक्रममा आयोजकले आफ्नोभन्दा पनि पाहुनाको समयलाई ध्यान दिन जरूरी देखिएको छ । तर, छिटोछरितो सेवा प्रवाह गर्ने सूचीमा रहेका बैंकले नै समयको बेवास्ता गरेपछि अन्य क्षेत्रको अवस्थाका बारे लेखिरहन आवश्यक देखिएन । होटलले नेपालगन्जका पत्रकारलाई विहान ११ बजे कार्यक्रममा बोलाएको थियो ।

होटलको समय तालिकाका अनुसार पत्रकारहरू नेपालगन्जबाट कोहलपुर ११ बजे नै पुगेका थिए । तर, आयोजकको लापरवाही, उदासिनता र ढिलासुस्ती तथा समयप्रतिको बेवास्ताले कार्यक्रम १ बजेसमम पनि शुरू हुन सकेन । कार्यक्रममा गएका पत्रकार हाई काट्दै दुई घण्टासम्म पर्खिदा नि आयोजकले कार्यक्रम गर्नेतर्फ कुनै चासो नदेखाएपछि केही पत्रकारले कार्यक्रम बहिस्कार गरेर हलबाट बाहिरिएका थिए ।

होटलले दुई दिनदेखि विन्तिभाउ गरेर बोलाएका पत्रकार समय अभावको कारणले कार्यक्रम स्थलबाट बाहिरएिपछि आयोजकले त्यसको आधाघण्टा अर्थात करिब साढे १ बजेतिर मात्रै आफुखुशी कार्यक्रम अघि बढाएको कार्यक्रममा सहभागी बताउछँन् । होटल म्याक्सले होटललाई क्यासलेस बनाउने उद्देश्य अनुसार पहिलो चरणमा दुई वटा बैंकसँग सहकार्यका लागि सम्झौता गर्ने कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमलाई समयमै सन्चालन गर्न नसक्नु र पत्रकार लगायतका सहभागीलाई दुई घण्टा हाई कटाउनुमा म्याक्स होटलमात्रै होइन सिटिजन र मेगा बैंक पनि उत्तिकै दोषी छन् । उनीहरू पनि आयोजकमध्येका पार्टनर हुन । तर, उनीहरू समेत समयको वेवास्तामा सक्रिय भैरहेका थिए । होटललाई क्यासलेस बनाउने उद्देश्य अनुसार पहिलो चरणमा म्याक्सले दुई वटा बैंकसँग सम्झौता गर्ने कार्यक्रम आयोजना गरेको होटलका म्यानेजर संजय श्रेष्ठ बताउँछन् ।

सिटिजन र मेगा बैंकले सेवाग्राहीलाई होटलको सेवा सुविधा उपभोग गरेवापत १० प्रतिशत छुटको नाममा होटलमा समेत आफनो कारोवार बढाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले होटललाई ‘क’ वर्गमा वर्गीकरण गरिएको उक्त होटलमा यसअघि खानेपानीमै ब्रम्हलुट, हेल्मेट चोरी लगायतका घटना सम्बन्धी समाचार सार्वजनिक भैसकेका छन् । प्राविधिक समस्याका कारण शनिबारको कार्यक्रममा समयको बेवास्ता गरिएझैं देखिएको होटलले स्वीकार गरेको छ । आगामी दिनमा तोकिएकै समयमा कार्यक्रम गरिने र यसले धेरै कुराको सिकाई पनि भएको होटल व्यवस्थापन पक्षले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतवार ०९:२७