सूचनाको शक्ति - The Power Of Information

        

नौं लाख रुपैयाँ ठगी प्रकरण

आशिषका मुख्य सहयोगी सुरज पनि प्रहरी खोरमा

नौं लाख रुपैयाँ ठगी गर्ने कथित सामाजिक अभियन्ता आशिष मल्ल ठकुरी

बाँके । प्रहरीमा भर्ना गरिदिने भन्दै नौं लाख रुपैयाँ ठगी गर्ने कथित सामाजिक अभियन्ता आशिष मल्ल ठकुरीका सहयोगी पनि पक्राउ परेका छन् । पक्राउ परेका आशिषको बयानका आधारमा सुरज मल्ललाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका कथित सामाजिक अभियन्ता आशिषलाई प्रहरीले फागुन २७ गते बिहीबार पक्राउ गरेको थियो । ‘उनकै बयानका आधारमा मुख्य सहयोगी रहेका फत्तेपुर निवासी अन्दाजी ३५ बर्षिय सुरजलाई नेपालगन्जबाट पक्राउ गरेका छौं,’ प्रहरी प्रवक्ता खड्काले भने ।

प्रहरीमा भर्ना गरिदिने प्रलोभनमा पारेर कथित सामाजिक अभियन्ता आशिषले सल्यानका भीमबहादुर घर्ती र तारा महताराबाट ६ लाख रुपैयाँ ठगी गरेका थिए । पीडितको जाहेरीका आधारमा आशिषलाई राप्तीसोनारी गाउँपालिका–६ बाट पक्राउ गरिएको थियो । आशिषले पीडितबाट एकपटक ४ लाख नगद र अर्को पटक २ लाख आइएमईमार्फत बुझेका थिए ।

सल्यानका भीमबहादुर र ताराबाट ६ लाख रुपैयाँ ठगेपछि प्रहरी खोरमा पुगेका कथित सामाजिक अभियन्ता आशिषले आफूहरुसँग तीन लाख रुपैयाँ ठगेको भन्दै शुक्रबार फेरि दुई जनाले उजुरी दिइसकेका छन् । दुई जनामध्ये एक जनाले दुई लाख र अर्काले एक लाख रुपैयाँ दिएको भन्दै प्रहरी सम्पर्कमा पुगेका थिए ।

पक्राउ परेका कथित सामाजिक अभियन्ता ठकुरीबाट पीडितको पैसासमेत असुलउपर गरी ठगी मुद्दा चलाइएको प्रहरी प्रवक्ता खड्काले बताए । प्रहरी हिरासतमा रहेका कथित सामाजिक अभियन्ता आशिषले पैसा लिएर पनि प्रहरी बनाउन नसकेपछि पैसा बुझाएकाहरु प्रहरीको सम्पर्कमा आएका छन् ।

प्रहरी प्रवक्ता खड्काका अनुसार प्रहरीसमक्ष दिएको बयानका आधारमा आशिषका मूख्य सहयोगी सुरजलाई पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको छ । पटक–पटक पैसा फिर्ता गर्न आग्रह गर्दासमेत ठकुरीले उल्टै धम्की दिने र पैसा फिर्ता नगरेपछि उजुरी दिन बाध्य भएको पीडित भीमबहादुर र ताराको भनाई छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार १२:०३