सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा मतदाता नामावली संकलन सुरु

बझाङ । सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन बझाङमा पुन सञ्चालन भएको छ । जिल्ला निर्वाचन कार्यालय बझाङले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेको थियो । निर्वाचनको मिति घोषणापछि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्यक्रम स्थगित गरेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७७ पुस ५ गतेसम्म बझाङमा ६० हजार ५८ जना पुरुष, ५८ हजार ८९३ जना महिला गरी जम्मा १ लाख १८ हजार ९५१ जना मतदाता रहेका छन् ।

१८ वर्ष पुगेका तथा मतदाता नामावलीमा नामलेखाउन छुटेका नेपाली नागरिकले फेरी मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् । बझाङका १२ ओटा स्थानियतह मध्ये सबैभन्दा धेरै मतदाता बुंगल नगरपालिकामा १९ हजार ६३ जना रहेका छन् । सबैभन्दा कम साइपाल गाउँपालिकामा १ हजार २५२ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अप्रेटर प्रेम बोहराले बताए । साथै जिल्लामा हाल १२५ मतदानस्थल रहेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार १७:१७