सूचनाको शक्ति - The Power Of Information

        

बाँके र बर्दियामा बाघ आतंक

बाघको आक्रमण बढेपछि निकुञ्ज क्षेत्रमा उच्च सतर्कता

बर्दिया निकुञ्ज अन्तरगत पर्ने राजमार्गमा पुस २१ दिउँसो देखिएको बाघ । तस्वीर : सञ्जीव पुन, फिल्ड अधिकृत (जेडएसएल)

बाँके । बाँके र बर्दिया निकुञ्ज क्षेत्र वरपर बाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढ्दै गएपछि दुवै जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ । पछिल्लो समयमा खासगरी बर्दिया जिल्लामा चालू आर्थिक वर्षको हालसम्म बाघको आक्रमणबाट नौ जनाको ज्यान गइसकेपछि दुवै जिल्लामा उच्च सतर्कता अपनाइएको हो । बुधबार मात्रै मधुवन नगरपालिका–३ की रेनुका सुनारको घाँस काट्न जाने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।

त्यस्तै बिहीबार गेरुवा गाउँपालिका–१, वनखेत बस्ने ३५ वर्षीय सरोज कार्कीलाई बाघले आक्रमण गरी घाइते बनाएको छ । बेसावर–छाउनी मध्यवर्ती सामुदायिक वनमा गोरु चराएर फर्किने क्रममा पछाडिबाट कार्कीलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । बाघले आक्रमण गर्दा कार्कीको दुवै हात र ढाडको बायाँतर्फ चोट लागेको छ । त्यस्तै बिहीबार राति मधुवन नगरपालिका–२, भगरैयामा टोपबहादुर चौधरीको गोठमा बाँधिएका दुईवटा गोरुलाई बाघले मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

अघिल्लो साता राजापुर नगरपालिका, कालाबञ्जरका ६५ वर्षीय लालबहादुर थारूलाई भैँसी चराउन गएका बेला बाघले झम्टेर बेपत्ता पारेको थियो । बेपत्ता थारूको कम्मरदेखि तलको भाग खाइसकेको अवस्थामा शव फेला परेको थियो । त्यसैगरी गत पुस १७ गते कर्णाली–चिसापानी सडक खण्डमा मोटरसाइकलमा सवार कैलालीकी एक महिलाको बाघले झम्टेर ज्यान लिएको थियो ।

कोहलपुर इलाका प्रहरी कार्यालयले बाँके राष्ट्रिय निकुञ्ज छेउको पूर्व–पश्चिम राजमार्गमा साइकल, मोटरसाइकल र पैदल नहिँड्न सर्वसाधारणलाई आग्रह गर्दै साँझ परेपछि आवागमन नगर्न आग्रह गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डीएसपी रवीन्द्र खनालले निकुञ्ज वरिपरिको क्षेत्रमा यात्रा गर्दा नरभक्षी बाघको जोखिम अत्यधिक रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले पनि राजमार्गमा रातिको समयमा विशेषगरी साइकल, पैदल र मोटरसाइकलमा नहिँड्न सर्वसाधारणलाई सूचित गरिएको बताए । बर्दिया जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गरेर नरभक्षी बाघको बढ्दो आक्रमणबाट बच्न आगामी १० दिनसम्म सम्भावित जोखिमयुक्त वन तथा निकुञ्ज क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । दुवै जिल्लामा रहेको निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानिसको हिँडडुल बढी हुने गरेको छ ।

बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जारी गरेको सूचनामा चालू आर्थिक वर्षमा बाघले नौ जनाको ज्यान लिइसकेकाले उक्त नरभक्षी बाघको पहिचान गरेर नियन्त्रणमा लिने प्रयास भइरहेको उल्लेख छ । आहाराको खोजीमा निस्कने बाघले मानिसलाई पनि आक्रमण गर्न थालेपछि बाँके र बर्दिया दुवै जिल्लाका स्थानीयलाई वन क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरिएको हो । त्यस्तै जीविकोपार्जनका लागि त्यस क्षेत्रका नागरिक वन क्षेत्रमा जाने गरेकाले उनीहरू बाघको सिकार हुने गरेको पाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार १५:०९