सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम अन्वेषणको अन्तिम सर्वेक्षण सुरु हुने चिनियाँ टोली दैलेख आउँदै

दैलेख  । दैलेखमा अन्वेषण सुरु गरिएको पेट्रोलियम पदार्थ अन्तिम नतिजाका लागि चिनियाँ विशेषज्ञ टोली पुनः दैलेख आउने भएको छ ।

खानी तथा भूगर्भ विभाग काठमाडौंले दिएको जानकारीअनुसार १९ चैतसम्म उक्त टोली दैलेख आइपुग्नेछ । अन्तिम ‘ड्रिलिङ’का लागि सडक यातायातको अवस्था, अन्य पूर्वाधारको तयारीलगायतका विषयमा अनुगमन गर्न टोली आउन थालेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए ।

यसअघि चिनियाँ टोलीले पहिलो चरणको काम सम्पन्न गरेको छ । अन्तिम सर्वेक्षणका लागि जमिनमुनि ४ किलोमिटरसम्म ‘ड्रिलिङ’ गर्नुपर्छ । त्यसको सम्भाव्यता अध्ययनका लागि टोली नेपाल आउन थालेको हो । अहिले आएको टोलीले प्रतिवेदन बुझाएपछि अन्तिम अन्वेषणका लागि पुनः अर्को टोली नेपाल आउने विभागले जानकारी दिएको छ ।

अन्तिम ‘ड्रिलिङ’ प्रतिवेदनका आधारमा दैलेख वा नेपालको कुन भूभागमा कति परिमाणमा पेट्रोलियम छ भन्ने टुंगो लाग्नेछ । त्यसपछि व्यावसायिक रूपमा उत्पादनका कामहरू अघि बढ्ने खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।

नेपाल आउने टोलीको भिसा प्रक्रिया सुरु भइसकेको विभागको भनाइ छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १०:२६