सूचनाको शक्ति - The Power Of Information

        

म्यान्मारमा सेनाको दमन जारी, आइतबार मात्र ३८ जनाको मृत्यु

काठमाडौँ । म्यानमारमा गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि विरोध प्रदर्शन जारी रहेका छन् ।

म्यान्मारमा रहेका मानवाधिकारवादी संस्थाहरुले आइतबार सेनाको गोलीबाट थप ३८ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुमाथि म्यान्मारको ठुलो शहर यांगुनमा सेनाले खुला फायर गरेको बताइएको छ ।

म्यान्मारमा अहिलेसम्म विरोध प्रदर्शनमा उत्रिएका ९० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको त्याँहा कार्यरत मानवाधिकारवादी संस्थाहरुले बताएका छन् ।

द एसिस्टेन्ट एसोसिएसन फर पोलिटिकल प्रिजनरले आइतबार यांगुनमा मात्र गोली लागेर २१ जना र कुल ३८ जनाको मृत्यु भएको जनाएको छ ।

यांगुनमा अवस्थित चिनियाँ व्यापारी र उनीहरुका फ्याक्ट्रीलाई प्रदर्शनकारीले निशाना बनाउन लागेपछि सेनाले मार्शल ल लागु गरेको बताइएको छ ।

प्रदर्शनकारीले म्यान्मारको सैनिक कू मा चीनले सहयोग गरेको भन्दै चिनिया व्यापारी र उनीहरुका व्यापारमाथि निशाना बनाउन लागेका छन् । साथै प्रदर्शनकारीले यांगुनमा स्थित चिनिया होटलमाथि पनि आक्रमण गरेका छन् ।

म्यान्मारमा शनिबार मात्र १२ प्रदर्शनकारीको मृत्यु भएको थियो ।

सैन्य शासनविरुद्ध ‘आन्दोलन’ लाई निरन्तरता दिने सुकीलगायत समूहको प्रतिबद्धता :

म्यानमारमा गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले सैन्य शासनविरुद्ध ‘आन्दोलन’ लाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले भने,  “अहिलेको अवस्था देशका लागि सबैभन्दा अँध्यारो क्षण हो । साथै छिट्टै बिहानी आउन लागेको अवस्था पनि हो ।” सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदहरूले ‘सीआरपीएच’ नामक एउटा समिति गठन गरेका थिए ।

मान विन खाइन थान त्यसका प्रमुख हुनुहुन्छ र सीआरपीएचले म्यान्मारको आधिकारिक सरकारका रूपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्न खोजिरहेको छ ।

भूमिगत रहेर नै उनले सैन्य ‘कू’ स्वीकार गर्न नमान्ने सांसदहरूको एउटा समूहको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार ०७:४९