सूचनाको शक्ति - The Power Of Information

        

कोहली र किशनको विष्फोटक ब्याटिङ : भारतको उत्कृष्ट जित

काठमाडौं ।  भारतका युवा ब्याट्सम्यान ईशान किशनले डेब्यू खेलमै विष्फोटक ब्याटिङ गरेपछि भारतले इंग्ल्यान्डसँगको दोस्रो टि२० खेलमा ७ विकेटको जीत निकालेको छ ।

ईशानसंगै कप्तान विराट कोहलीले पनि खेलमा उत्कृष्ट ब्याटिङ गरे । योसँगै पाँच टि-२० सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतको जितमा कप्तान विराट कोहली ४९ बलमा ५ चौका र ३ छक्का सहित ७३ रनमा अविजित रहे ।

विराटले क्रिस जोर्डनलाई छक्का प्रहार गर्दै खेल जिताएका थिए ।

डेब्यू खेल खेलेका युवा ब्याट्सम्यान ईशान किशन ३२ बलमा ५ चौका र ४ छक्का सहित ५६ रनको उत्कृष्ट इनिङ खेले ।

पहिलो ओभरको अन्तिम बलमा युवा तीव्र गतिका बलर साम करनले लोकेश राहुललाई शून्यमा विकेटकिपर जस बटलरबाट क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाए ।

तर दोस्रो विकेटका लागि ईशान किशन र विराट कोहलीले ९४ रनको उत्कृष्ट साझेदारी गरेपछि भारतले सहज जित हात पारेको हो ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो ।

पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो ।

तेस्रो खेल भोलि मंगलबार हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार ०७:१२