सूचनाको शक्ति - The Power Of Information

        

चैत २१ देखि आहा रारा गोल्डकप : आठ टिम सहभागी हुने

कास्की । मोफसलको बहुप्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आउँदो चैत्र २१ गतेदेखि हुने भएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यसाथ सहारा क्लब पोखराद्वारा आयोजित १९ औं संस्करणको २८ गते सम्म सञ्चालन हुनेछ । खेलमा ८ वटा टिम सहभागी हुनेछन् ।

पोखरा रङ्गशालामा हुने प्रतियोगितामा मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, थ्री स्टार, नेपाल एपीएफ, सङ्कटा, मच्छिन्द्र, अफ्रिकन रुट एसोसिएशन डउला क्यामरुन र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम र दोश्रो हुनेले क्रमशः  १० लाख १ हजार र ५ लाख १ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यस प्रतियोगिताको अनुमानित आम्दानी १ करोड २९ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ अनुमान गरिएको छ । क्याराभान गोल्ड कपसहित २० औं वर्षदेखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

१८ औं संस्करणको विजेता नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब र उप-विजेता नेपाल पुलिस क्लब रहेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार १२:०६