सूचनाको शक्ति - The Power Of Information

        

अभियन्ताका नाममा ठगीधन्दा

६ लाख ठगेका कथित अभियन्ता आशिषलाई आज अदालत लगिँदै

नौं लाख रुपैयाँ ठगी गर्ने कथित सामाजिक अभियन्ता आशिष मल्ल ठकुरी

बाँके । आफुलाई भ्रष्टाचारविरुद्धका अब्बल अभियन्ता ठान्थे । कहिले पत्रकारको भेषमा सरकारी कार्यालयका कर्मचारीलाई हैरानी दिन्थे । आफुलाई सामाजिक अभियन्ता बताउथे । सामाजिक सञ्जालमा चर्कोरुपमा भ्रष्टचारको विरोध गथ्र्ये । सुशासनबारे बोल्थे । तर यिनी कति भ्रष्ट रहेछन् भन्ने तथ्य पर्दाफास भएको छ ।

कथित सामाजिक अभियन्ता बाँके राप्तीसोनारी गाउँपालिका–६ का आशिष मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेपछि अहिले उनको कालोरुप नाङ्गिएको छ । प्रहरीमा भर्ना गरिदिने भन्दै ठगी गरेको आरोपमा उनी पक्राउ परेका छन् । प्रहरीमा भर्ना गरिदिने प्रलोभनमा पार्दै ६ लाख रुपैयाँ ठगी गर्ने कथित सामाजिक अभियन्ता ठकुरीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

उनले सल्यानका भीमबहादुर घर्ती र तारा महताराबाट ६ लाख रुपैयाँ ठगी गरेका थिए । भीमबहादुर घर्ती र तारा महतारासँग ठकुरीले घर्ती र महतारालाई प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

पीडितको जाहेरीका आधारमा ठकुरीलाई राप्तीसोनारी गाउँपालिका–६ बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए । ठकुरीले पीडितबाट एकपटक ४ लाख नगद र अर्को पटक २ लाख आइएमईमार्फत बुझेको प्रहरीसमक्ष बताएका छन् । पक्राउ परेका कथित सामाजिक अभियन्ता ठकुरीबाट पीडितको पैसासमेत असुलउपर गरी ठगी मुद्दा चलाइने प्रहरी उपरीक्षक रानाले बताए ।

उनले भने, ‘जतिसुकै ठुलो पावर लगाए पनि ठकुरीमाथि कारबाहीको प्रक्रिया अघि बढाउँछौं, कसैको पावर लाग्दैन ।’ पटक–पटक पैसा फिर्ता गर्न आग्रह गर्दासमेत ठकुरीले उल्टै धम्की दिने र पैसा फिर्ता नगरेपछि उजुरी दिएको पीडितले बताए । प्रहरी उपरीक्षक रानाले ठकुरीलाई आज अदालतमा पेश गरी ठगी मुद्दा चलाउने प्रहरी उपरीक्षक रानाले जानकारी दिए । उनले पीडितहरुलाई अदालतले नै न्याय दिने स्पष्ट पारेका छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १०:३२