सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षाका नाममा कमाउधन्दा

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ‘बिचौलिया प्रहरी हवल्दार’

स्रोतका अनुसार हवल्दार शाहले मेडिकल कलेजमा बस्नका लागि इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपीदेखि बाँकेका प्रहरी प्रमुख एसपीसम्ममा गतिलै सेटिङ्ग मिलाएको पनि सार्वजनिक भएको छ ।

बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुरक्षा खटिएका प्रहरी नै विचौलिया भएको खुलेको छ । प्रहरी हवल्दार भुवन शाहले विगत ७ बर्षदेखि मेडिकल कलेजमा बिचौलियाको काम गर्दै आइरहेको यतिबेला खुलेको हो । मेडिकल कलेज कोहलपुरमा उपचारका लागि आउने घाइते तथा बिरामीलाई औषधी खरिदका लागि उनले हात समातेर आफ्नो मेडिकलमा पठाउने र महँगोमा औषधी भिडाउने गरेको खुलेको छ ।

हवल्दार शाहले साईकुमारी फार्मेसीमा लगानी गरेको पनि स्थानीय बताउँछन् । यसअघि शाहले सवारी दुर्घटनाको घटनामा आवश्यक पर्ने औषधी मेडिकल कलेजको उत्तर गेट नजिकै रहेको भुषाल मेडिकलबाट पठाउने गरेका थिए । उक्त मेडिकलबाट भन्दा अन्य मेडिकलले कमिशन बढी दिने भएपछि उनले सोही स्थान नजिकै रहेका आस्था, नागरिक र साथी फार्मेसीबाट औषधी पठाई मोटो रकम कमिशन लिने गरेकोसमेत मेडिकल सञ्चालकहरु बताउँछन् ।

०७५ सालदेखि मेडिकल कलेजको उत्तर गेट नजिकै आफ्नै लगानीमा साईकुमारी फार्मेसी खोलेर विरामीलाई उतै ओसार्न थालेको स्थानीय बताउँछन् । शिवलाल जैसीको नाममा दर्ता भई सञ्चालनमा रहेको उक्त मेडिकलमा बिरामी तथा घाइतेबाट चर्को रकम असुल्दै आएको छ । प्रहरी नै औषधी ब्यापारी बनेपछि उनका विरुद्ध बोल्ने कसको हिम्मत ? केही भन्यो भने कुनै घटनामा फसाई दिने हो की भन्ने त्रासमा स्थानीय रहेको बुझिएको छ ।

केही महिनाअघि ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत एक प्रहरी जवान मोटरसाइकल दुर्घटनामा परेका थिए । तर, गतिलो कमिशन नआउने भनेपछि हवल्दार शाहले उनको उपचारमा समेत लापरवाही गरेका थिए । पछि ती जवानको ज्यानसमेत गएको थियो । उनी विगत लामो समयदेखि शिक्षण अस्पतालमा कार्यरत छन् । मेडिकल डाइरेक्टरसँग गतिलै हिमचिम बनाएका हवल्दार शाहले यहाँका कर्मचारीलाई समेत दुर्व्यवहार गर्ने गरेको खुलेको छ ।

मेडिकल कलेजबाट अन्यत्र रिफर हुने विरामीबाट समेत आफनो र आफू नजिकको अस्पताल र मेडिकलमा पठाएर हवल्दार शाहले गतिलै कमिशन लिने गरेको एक एम्बुलेन्स चालक बताउँछन् । उपचारका लागि आएका घाइते तथा बिरामीलाई थप उपचारका लागि रिफर गर्नुपरेमा प्रहरी हवल्दारले भारतको लखनउस्थित सामरा हस्पिटलमा रिफर गर्न लगाउने गरेका छन् ।

एम्बुलेन्स चालकले भने ‘उक्त हस्पिटलबाट समेत मोटो रकम कमिशन लिने गरेको र घाइते तथा बिरामी तथा मृतकको शव सम्बन्धित स्थानमा लैजाँदा बाटोको दुरी हेरी ५ सयदेखि २ हजारसम्म हवल्दारलाई कमिशन दिँदै आएका छौ ।’ स्रोतका अनुसार हवल्दार शाहले मेडिकल कलेजमा बस्नका लागि इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपीदेखि बाँकेका प्रहरी प्रमुख एसपीसम्ममा गतिलै सेटिङ्ग मिलाएको पनि सार्वजनिक भएको छ ।

हवल्दार शाहलाई घुमुवा प्रहरी जितेन्द्रजङ केसीले सहयोग गर्दै आएका छन् । उनी घुमुवाको निहुँमा यस क्षेत्रका व्यवसायीबाट मोटो रकम असुली गर्नेमध्येका नाइके भएको खुलेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षकका विश्वास पात्र मानिन्छन् । क्रसर व्यापारी, भन्सार छली गर्ने गिरोह लगायतका ब्यापारीबाट पैसा उठाउने गरेको भनि उजुरी परेपछि छानबिनमा परेका केसीलाई हवल्दार शाहकै पहुँचमा कारवाही हुन नसकेको पनि थाहा भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १९:५१