सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले बुधबार पनि स्थायी कमिटी बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बुधबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको माओवादी केन्द्रका १ नेताले जानकारी दिए ।

बैठकमा पार्टी पुनर्गठन, सरकारलाई दिएको समर्थन र नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने ती नेताको भनाइ छ ।

नेकपा नाम विवादको मुद्दामा सर्वोच्च अदालतले आइतबार गरेको फैसला पछि ब्यूँतिएको माओवादी केन्द्रको मंगलबार पहिलो स्थायी कमिटी बैठक बसेको थियो ।

मंगलबारको बैठकले भावी सत्ता समीकरणका विषयमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतसँग छलफल गर्ने निर्णय गरेको थियो ।

मंगलबारको बैठक पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

नयाँ सत्ता समीकरणका विषयमा छलफल अगाडि बढाइए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनका विषयमा भने माओवादीले कुनै निर्णय गरेको छैन ।

नेताहरुका अनुसार नयाँ सत्ता समीकरणका विषयमा ठोस सहमति नहुञ्जेलसम्म वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने रणनीति माओवादी केन्द्रले लिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार १०:५३