सूचनाको शक्ति - The Power Of Information

        

नाफा, गुणस्तर र सेवामा अब्बल बन्दै टेलिकम


काठमाडौं । नेपाल टेलिकमले पछिल्लो समयमा आफूलाई नाफा, गुणस्तर र सेवा विस्तारमा आफुलाई अब्बल सावित गरिरहेको छ । टेलिकमले खुद नाफा १५ अर्ब ३७ करोड पुर्याएको छ । सरकार संलग्न अधिकांश कम्पनी ओरालो लागिरहेका बेला बहुमत सेयर सरकारले ओगटेको टेलिकमले सरकारी निर्णय प्रक्रियालाई छिचोल्दै आफूलाई अब्बल सावित गर्न सकेको हो ।
निरन्तर प्रगति गरिरहेको टेलिकमको प्रतिसेयर आम्दानी (ईपीएस) बर्सेनी बढ्ने क्रममा रहेको छ । अहिले टेलिकमको ईपीएस १०२ रुपैयाँ ४९ पैसा पुगेको छ । टेलिकमले १५ औं बार्षिकोत्सव मनाइरहँदा ४ वर्षको अवधिमा टेलिकमका लगानीकर्ताको ईपीएस २५ रुपैयाँ बढेको जनाएको छ । जसका कारण गत वर्षको भन्दा यो चालु बर्षमा बढी लाभांश दिने अवस्थामा टेलिकम पुगेको हो ।
गत आवमा गरेको नाफाबाट सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश वितरण गरेको टेलिकमले चालु आर्थिक वर्षमा ईपीएस अझै बढ्ने दावी गरेको छ । आर्थिक वर्ष २०७०/०७१ मा ईपीएस ७७ रुपैयाँ १२ पैसा रहेकोमा २०७१/०७२ मा बढेर ९७ रुपैयाँ पुगेको थियो । तर २०७२/०७३ मा ईपीएस घटेर ९० रुपैयाँमा झरेको टेलिकमले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको ईपीएस घट्दै गएका बेला नेपाल टेलिकमको नाफा वर्षेनी बढ्दै गएकाले उसको ईपीएसमा वृद्धि भएको हो ।
चार वर्षअघि ११ अर्ब ५६ करोड रुपैयाँ नाफामा रहेको टेलिकमले ४ अर्ब रुपैयाँ बढाएको छ । गत आर्थिक वर्षमा टेलिकमको खुदनाफा बढेर १५ अर्ब ३७ करोड २७ लाख रुपैयाँ पुगेको छ भने यस वर्ष नाफा अझ बढ्ने टेलिकमको प्रक्षेपण छ । चार वर्षअघि ३९ अर्ब ६७ करोड रुपैयाँ आम्दानी रहेकोे टेलिकमले गत वर्ष ४४ अर्ब ५८ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो अनुपात हेर्दा टेलिकमको आम्दानी वर्षेनी बढ्दै गएको देखिन्छ ।
चार वर्षअघि २० अर्ब ३५ करोड रुपैयाँ सरकारलाई कर बुझाएको टेलिकमले गत वर्षमात्र अग्रिम आय, मूल्य अभिवृद्धि कर, दुरसञ्चार सेवा शुल्क, स्वामित्व शुल्क, भन्सार शुल्क, रोयल्टी आरटीडीएफ, लाभांश र सम्पत्ति र सवारीसाधन गरी २४ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ कर सरकारलाई बुझाइसकेको छ । चालु आवको पुससम्म टेलिकमले लाभांशबाहेक साढे ६ अर्ब रुपैयाँ कर बुझाएको छ ।
गत मंसिरसम्म भ्वाइस सेवातर्फ १ करोड ८५ लाख ५८ हजार बढी ग्राहक पुर्याएको टेलिकमले चौथो पुस्ता सेवा सुरु गरेको टेलिकमले यो वर्षदेखि नेपाल–चीन ट्रान्सबोर्डर अप्टिकल लिंकको पनि सुरु गरेको छ । भ्वाइस सेवातर्फको बजार हिस्सा ४९ प्रतिशत पुर्याएको टेलिकमले जीएसएम मोवाइल प्रयोगकर्ता १ करोड ६२ लाख २५ हजार, सीडीएमए सेवाका १५ लाख ५० हजार र पीएसटीएन सेवाका ६ लाख ८२ हजार ग्राहक पुगेको जानकारी दिएको छ । टेलिकमका अनुसार इन्टरनेट डाटा सेवातर्फ पनि प्रयोगकर्ताको संख्या ८९ लाख ३५ हजार पुगेको छ । फोरजी सेवा विस्तार र द्रुतगतिको इन्टरनेट सेवा दिने तयारी गरेको टेलिकमले डाटा सेवातर्फ ५२.७३ प्रतिशत बजार हिस्सा रहेको जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७४, सोमबार १०:५९