सूचनाको शक्ति - The Power Of Information

        

सकियो १० दिने पत्रकारिता तालिम (फोटोफिचरसहित)

बाँके । मानवअधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) र नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ को आर्थिक सहयोगमा महिलाहरुलाई लक्षित १० दिने पत्रकार तालिम समापन भएको छ । कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका मेयर डा.धवलशम्सेर राणाले पत्रकारिता पेशालाई इमान्दाररुपमा अघि बढाउन मिसन पत्रकारिताको थालनी गर्नुपर्ने बताए ।

उनले पत्रकारीता क्षेत्रमा लागेका महिला पत्रकारको कामको मुल्याङ्कनसँगै प्रोत्साहन गर्ने चलन कमै मात्र भएकोले अब प्रोत्साहन बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गरे । तालिममा सहभागि महिला पत्रकारहरुको क्षमता अभिवृद्धि भएको देखेर हर्षित भएको बताउँदै पत्रकारीता तालिमका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै तालिमलाई सफल बनाउन आर्थिक सहयोग गरेको नेपालगन्ज उपहानगरपालिका वडा नं.४ लाई सम्मान गरिएको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनिमियतता रोक्ने कार्यमा पनि उत्तिकै भूमिका रहेको बताए । युथ टुडेका प्रबन्ध निर्देशक मोहम्मद ज्याउल हकले पत्रकारितामा महिलाको उपस्थितिले महिला अधिकारका मुद्दा उठान गर्न केही न केही सहयोग पुग्ने बताए ।

नेपालगन्ज ४ का अध्यक्ष मेहम्मद सफिक बेहनाले महिला पत्रकारको न्यून उपस्थितिले महिला अधिकारको मुद्दा जुनरुपमा उठान हुनुपर्ने हो, त्यो उठान हुन नसकेकोले मुद्दाहरु उठान गर्नका लागि तालिम सञ्चालन गरेको बताए । उनले भविष्यमा पनि थप पत्रकारहरु उत्पादन गर्नेतर्फ ध्यान दिने बताए । हुरीपपका अध्यक्ष आलम खानले पत्रकारिता अत्यन्तै महत्वपूर्ण र शक्तिशाली पेशा भएको बताउँदै भने, ‘यसको सदुपयोग वा दुरुपयोग, यो शक्ति कसको हितमा प्रयोग गर्ने भन्ने कुरा एक पत्रकारको कलम र बोलीमा निर्भर हुन्छ । अनि उसको बोली र कलम उसको सोचबाट सञ्चालित हुन्छ ।’

१० दिनसम्म चलेको प्रशिक्षणमा १७ जना पत्रकारहरुको सहभागिता थियो भने क्रियाशील पत्रकार तथा प्रध्यापक डक्टप्रसाद धिताल, गोपी बुढा, प्रलाहद विश्वकर्मा, रामु ओली र आलम खानले सहजीकरण गरेका थिए । समापन कार्यक्रम वडा सदस्य इन्दीरा शाही, मेनका बैद्य, मिडिया नेपालका केन्द्रीय सदस्य काशीराम शर्मा, वडासचिव गौरी शाही, राजकुमार कार्की लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन असलम भाट र प्रेरणा गिरीले गरेका थिए ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार १७:०४