सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज आर्थिक राजधानी : नेता पोखरेल


बाँके । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नं. ५ का सम्भावित मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्जलाई आर्थिक राजधानीका रुपमा विकसित गरिने बताएका छन् । प्रदेश नं. ५ प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका पोखरेलले प्रदेश राजधानीका विषयमा भन्दा आर्थिक राजधानीका लागि अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।
प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा नेपालगन्जमा आज आयोजित कार्यक्रममा उनले भने, ‘नेपालगन्ज पश्चिम नेपालको केन्द्रविन्दु हो, प्रदेश राजधानी सम्भव नहुन सक्छ । यहाँका राजनीतिक दल, उद्योगी व्यवसायी सबैले आर्थिक राजधानीका लागि आवाज उठाउन जरुरी छ । त्यसका लागि मेरो पूर्ण सहयोग र समर्थन रहनेछ ।’
प्रदेशसभा सदस्य पोखरेलले आर्थिक समृद्धिका लागि परियोजनामा आधारित बहस जरुरी रहेको बताउँदै भने, ‘नेपालगन्जलाई मानसरोवरको ट्रान्जिटका रुपमा विकसित गरिनुपर्छ । नेपालगन्जले आर्थिक समृद्धिको यात्रालाई जोड्न सक्छ । यहाँको विकास र योजनालाई जलतासँग जोड्नुपर्छ ।’
उनले साँस्कृतिक र ऐतिहासिक विविधता रहेको प्रदेश ५ लाई आर्थिक समृद्धिको नमूना प्रदेशका रुपमा विकास गर्न नयाँ बन्ने प्रदेश सरकारले प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे । ‘हिमालदेखि तराईसम्म जोडिएको प्रदेशलाई आर्थिकरुपमा सम्पन्न बनाउनुपर्ने दायित्व हामीसँग आएको छ,’ प्रदेशसभा सदस्य पोखरेलले भने, ‘जनताको दैनिकीलाई सहज बनाउन आर्थिक समृद्धि हाम्रो प्राथमिकता हो ।’

प्रकाशित मिति : २२ माघ २०७४, सोमबार ०६:५९