सूचनाको शक्ति - The Power Of Information

        

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सरसफाइ सुरु भएको छ ।

आज बिहान वाग्मती सफाइ महाअभियानले पशुपति क्षेत्रमा सफाइ गर्न लागेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

कोषले महाशिवरात्रिमा पशुपतिमा आउने भक्तजनलाई दर्शन गराउने गरी तयारी सुरु गरेको छ । महाशिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउन समेत कोषले भक्तजनलाई आग्रह गरेको छ । यसैबीच, यो वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

कोष कार्य सम्पादन समितिको बैठकले सदस्य-सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ । यसैगरी कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ ।

परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार समिति, परिषद् सदस्य अर्जुनप्रसाद बाँस्तोलाको संयोजकत्वमा साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्थापन समिति, परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्थापन समिति र परिषद् सदस्य विश्वकरण जैनको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था समिति गठन गरिएको छ ।

यसैगरी परिषद् सदस्य देवी बरालको संयोजकत्वमा सरकारी निकाय समन्वय समिति, परिषद् सदस्य उद्धवप्रसाद बरालको संयोजकत्वमा मेला, बजार तथा सजावट व्यवस्था समिति, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाको संयोजकत्वमा स्वयमसेवा परिचालन समिति र मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन समिति गठन गरिएको छ ।

महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीवार परेको छ । पर्वका अवसरमा गएको वर्ष चैतदेखि कोरोनाका कारण पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा कोषले पर्सि २५ गते सुरु गर्दैछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार १०:००