सूचनाको शक्ति - The Power Of Information

        

विप्लव शान्तिमार्गमा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि मुलुक अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको दाबी गरेका छन् ।

सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा हिंसात्मक द्वन्द्व सकिएको दाबी गरे ।

‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । अब नेपालमा हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’

ओलीले अब शान्तिपूर्ण बाटोबाट विप्लवले आफ्ना विचारहरू कार्यान्वयन गर्ने अपेक्षा राख्दै नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई थुनामुक्त गर्न सुरु गरिसकेको बताए । ‘उहाँहरूको आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी छ । त्यसले शान्तिपूर्ण ढंगले गतिविधि गर्छ, संगठन गर्छ ।

शान्तिपूर्ण ढंगले गतिविधि गर्ने भइसकेपछि उहाँका नेता–कार्यकर्ताहरू प्रक्रिया पूरा गरेर हामी मिलाएर छाड्ने क्रम अगाडि बढाउँछौँ र छाड्छौँ,’ उनले भने, ‘मुद्दा–मामिला छन् भने तिनलाई अन्त्य गरिन्छ । धर्मेन्द्र त छुटिसक्नुभयो । छुट्ने क्रम सुरु भइसक्यो ।’ नयाँ पत्रिका

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार ०६:४३