सूचनाको शक्ति - The Power Of Information

        

नेपाल बैंकमा खुल्याे झण्डै दुई सय जनाका लागि जागिर

काठमाडौं । नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि जागिर खुलेको छ।

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको हो।

लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।

चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय ताेकिएकाे छ।

सबै पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुने र लिखित परीक्षा र परीक्षा केन्द्र सम्बन्धी सूचना पछि प्रकाशित गरिने बैंकले जनाएको छ।

तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ।

बैंकको वहालवाला स्थायी कर्मचारीलाई उल्लेखित उमेरको हद नलाग्ने सूचनामा उल्लेख छ।

फाराम नेपाल बैंक लिमिटेडको वेवसाइटबाट भर्न सकिन्छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार ०८:१०