सूचनाको शक्ति - The Power Of Information

        

फुटबल क्लब बार्सिलोनाको अफिसमा प्रहरी छापा, ४ पक्राउ

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाको कार्यालयमा प्रहरीले छापा मारेको छ ।

आर्थिक अपचलन र कर छलीको आशंकामा क्लबका चार जना कर्मचारी पक्राउ समेत परेका छन् ।

प्रहरीले आफ्नो छानविन जारी रहेको भन्दै पक्राउ गरिएकाहरुको परिचय खुलाएको छैन । तर स्पेनिस मिडियाले क्लबका निवर्तमान अध्यक्ष जोसेप मारिया बार्तोमेउ पनि पक्राउ परेका दावी गरेका छन् ।

बार्सिलोनाले गत आइतवार मात्रै क्लबको नयाँ अध्यक्षको निर्वाचन गरेको थियो । सोमवार प्रहरीले कार्यालयमा छापा मारेर धरपकड गरेको बताईएको छ ।

गत वर्ष बार्सागेट प्रकरणमा बार्सिलोनाले आफ्नै खेलाडीहरुलाई सामाजिक संजालमा आलोचना गर्न एउटा निजि फर्मलाई करारमा राखेको खुलाशा भएको थियो ।

तर क्लबले आधिकारिक रुपमा भने यो खबरको खण्डन गरेको थियो । विवाद बढ्दै गएपछि गत अक्टोबरमा क्लबका अध्यक्ष बार्तोमेउले पदबाट राजिनामा घोषणा गरेका थिए ।

बार्सिलोना फुटबल क्लबले प्रहरीको जारी छानविनमा पूर्णरुपले सहयोग गर्न बताएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार ०७:०८