सूचनाको शक्ति - The Power Of Information

        

बालबिवाह गरे सेवा सुविधाबाट बञ्चित


सुर्खेत । बढ्दो बालबिवाह न्यूनिकरणका लागि बालबिवाह गर्ने बालबालिकाहरूलाई विद्यालयबाट प्रदान गरिने सेवासुविधाबाट बञ्चित गर्ने भएको छ । जनज्ञान भण्डार माध्यमिक विद्यालय मालारानीमा अध्ययनरत विद्यार्थीहरूमा बढ्दो बालबिवाह हुने गरेको पाइएपछि विद्यालयले बालबिवाह गर्नेलाई विद्यालयबाट प्रदान गरिने सेवासुविधाबाट बञ्चित गर्ने भएको हो ।
बालविवाह गर्ने विद्यार्थीहरूलाई छात्रावृति र पाठयपुस्तक उपलब्ध गराउने लगायतका सेवासुविधाबाट बञ्चित गर्ने निर्णय गरिएको हो । विद्यालयले आगामी फागुन महिनामा बालविवाह गर्ने बालबालिका, उनीहरूका अभिभावक, बालअधिकार चेतना समुहका पदाधिकारी र अन्य विद्यार्थीहरूको सहभागितामा बालविवाहविरुद्ध अभियान थाल्ने बताइएको छ ।
समयमा विद्यालय नआउने, पुरा समय अध्यापन नगराउने शिक्षकरशिक्षिकाहरूलाई विव्यसले कारवाहीको दायरामा ल्याउन सिफारिस गर्ने र विद्यार्थीहरूले कक्षा छोडने प्रवृतिलाई न्युनिकरण गर्न दिनमा दुईपटक हाजिरी लगाउने निर्णय गरिएको जनाइएको छ । बढदो बालविवाहसँगै सो माविको शिक्षाको गुणस्तर खस्कदै गएको र विद्यालयको शैक्षिक वातावरण धुमलिदै गएकोले यस्तो निर्णय गरिएको सो माविका प्राधानाध्यापक चन्द्रनारायण चौधरीले बताए ।
सो माविमा यसवर्ष मात्रै बालविवाह गरेका कक्षा १० मा १०, नौ मा ४, आठमा १०, सातमा २ र ६ मा ५ जना गरी २७ जना अध्ययनरत छन् । बैठकमा गुर्भाकोट नगरपालिका २ का वडाध्यक्ष नोखबहादुर वली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण केसीले बढ्दो बालविवाह, शिक्षकहरूको लापरवाही, अभिभावकहरूको वेवास्ता तथा विद्यार्थीहरूले कक्षा छोडने प्रवृतिका कारण विद्यालयकोे शिक्षाको गुणस्तर वर्षेनी खस्कदै गएको बताए । स्थानीय निकायका जनप्रतिनिधी, राजनीतिक दलका प्रमुख एवम प्रतिनिधी, विव्यसका पदाधिकारी, अभिभावक, मानवअधिकार निगरानी समुह मालारानीका पदाधिकारी, शिक्षकशिक्षिका, बालअधिकार चेतना समुहको पदाधिकारी र अन्य विद्यार्थीहरूले बालविवाह विरुद्ध लाग्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७४, बुधबार ०९:३३