सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिक निगरानी

कम्दी क्षेत्रबाट नेपालगन्ज भित्रिने २३३ वटा ट्रयाक्टर र ट्रिपर कारबाहीमा

बाँके । राप्ती नदीबाट क्षमताभन्दा धेरै नदीजन्य पदार्थ बोकेका ट्रिपर तथा ट्रयाक्टरहरु नियमितजसो ट्राफिक कारबाहीमा परिरहेका छन् । राप्ती नदीबाट नदीजन्य पदार्थ उत्खनन् गरी क्षमताभन्दा धेरै सामान बोकेर पानी चुहाउँदै हिँड्ने ट्रिपर तथा ट्रयाक्टरलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले नदीजन्य पदार्थ बोक्ने ट्रयाक्टर तथा ट्रिपरलाई बारम्बार सचेत गराउँदा गराउँदै अटेरी गरेपछि कारबाही गर्नुपरेको ट्राफिक प्रहरी पोष्ट फुलटेक्राका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) दमनविक्रम सेनले बताएका छन् । फुलटेक्रा पोष्टले मात्रै माघ महीनाको पहिलो सातादेखि हालसम्म २३३ वटा ट्रिपर तथा ट्रयाक्टरलाई कारबाही गरेको छ ।

असई सेनका अनुसार कारबाहीमा परेकामध्ये १६७ वटा ट्रयाक्टर र ६६ वटा ट्रिपर रहेका छन् । असई सेनका अनुसार क्षमताभन्दा धेरै नदीजन्य पदार्थ बोकेका ट्रिपर तथा ट्रयाक्टरहरुलाई भेटिएकै स्थानमा कारबाही गर्ने गरिएको छ । राप्ती नदीबाट बालुवा र ग्राभेल ओभरलोड बोकेर आउने ट्रिपर तथा ट्रयाक्टरलाई कारबाही गरिएको असई सेनले जानकारी दिए ।

‘त्यस्ता ट्रिपर तथा ट्रयाक्टरहरुलाई नियमित कारबाही गर्न थालेपछि ओभरलोड र पानी चुहाउँदै गुड्ने समस्या समाधान भएको छ,’ असई सेनले भने । पछिल्लो समय ट्रयाक्टरको ट्रलीमा ढाला थपेर (मापदण्ड विपरित पाता जोडिएका) क्षमताभन्दा धेरै नदीजन्य पदार्थ बोक्ने कारबाही गरिएको पनि असई सेनले जानकारी दिए ।

कारबाहीमा परेका ट्रयाक्टरबाट ९२ हजार रुपैयाँ र ट्रिपरबाट ६० हजार गरी कुल १ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको असई सेनले जानकारी दिए । जसमध्ये नदीजन्य पदार्थ खुलेसँगै ट्रयाक्टर तथा ट्रिपरले पानी चुहाएर डुडुवा गाउँपालिकामा पर्ने कम्दी–पुरैनी सडक खण्डमा जीर्णसमेत बन्दै गएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार १५:३७