सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा तीव्र गतिको इन्टरनेट विस्तार


जुम्ला । कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार गर्ने कार्य सकिएको छ । कर्णाली अञ्चलको जुम्लाका सबै स्थानीय तहका ग्रामीण बस्तीहरुसम्म सिम्पल नेटर्वकको तीव्र गतिको इन्टरनेट सेवा पुगेको छ । नेपाल टेलिकमलाई चूनौती दिँदै कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार कार्यमा जुटेको सिम्पल इन्टिलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्रालिले जुम्लामा काम सम्पन्न गरेको हो ।
वइव सरोवर कम्युनिकेशन प्रालि काठमाडौँको प्राविधिक सहयोग तथा सिम्पल इन्टिलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्रालि जुम्लाको १ करोड लगानीमा सिम्पल नेटर्वकको इन्टरनेट सेवा विस्तार भएको हो । सिम्पल नेटर्वकका प्रवन्धक प्रतिभा शाहीका अनुसार नेपालगन्जको मिड प्वाइन्टबाट सिम्पल नेटर्वकको तीव्र गतिको इन्टरनेट सेवाको लिंक दैलेखको रानीमत्ता टावर हँुदै कालिकोटको पुग टावरबाट जुम्लाको बासथाप्ला टावरमा पठाइएको छ ।
जसअन्र्तगत जुम्लाको बासथाप्ला टावरले जिल्लाका सबै स्थानीय तहलाई पायक पर्ने हिसाबले विस्तार गरिएका १ दर्जन बढि टावरमा सिम्पल नेटर्वकको तीव्र गतिको इन्टरनेट सेवा विस्तार गर्नेछ । उनले भनिन्, ‘हामी तत्काल कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार गर्दैछौं । जुम्लामा काम सम्पन्न भयो, स्थानीयले ढुक्कताका साथ आफ्नो घरदैलोमै ५० एमवी क्षमतासहितको इन्टरनेट सेवा प्रयोग गर्नेछन्, सिम्पल नेटर्वकको बजार मागका आधारमा केहि बर्षभित्र देशभर सेवा सुरु हुनेछ ।’
सिम्पल नेटवर्कको तीव्र गतिको इन्टरनेट सेवाले कर्णालीका ग्रामीण क्षेत्रसम्मका नागरिकलाई सूचनाको पहुँचमा ल्याउन सहयोग पुगेको छ । कम क्षमताको नेपाल टेलिकमको इन्टरनेट सेवाबाट असन्तुष्ट सेवाग्राही र संघीय संरचनापछिका गाउँपालिकाहरु र सरकारी तथा गैरसरकारी कार्यालयसमेत घरदैलोमै विस्तारित इन्टरनेट सेवा पाउने भएपछि खुशी भएका छन् । यो ईन्टरनेट सेवाले विशेषगरी स्थानीय तहको कार्य सम्पादनमा राहात पुग्ने भएको छ ।

पर्यटकीय क्षेत्रमा हर्ट स्पोर्ट
कर्णालीमा प्रसिद्ध पर्यटकीय क्षेत्र दर्जनबढि छन् । यस्तो अवस्थामा यहाँ आउने पर्यटकले नेटवर्क अभावका कारण आफ्नो सूचना प्रवाह गर्न सास्ती खेपिरहेका छन् । यीनै समस्यालाई मध्यनजर गर्दै सिम्पल नेटर्वकले पर्यटकीय स्थलहरुमा हर्ट स्पोर्ट सञ्चालन गर्ने भएको छ । जसका लागि मुगुमा रहेको राराताल, जुम्लाको तातोपानी धारा, आधा दर्जनबढि दह र कुण्ड रहेका रमणीय पाटन क्षेत्र, खस भाषाको सभ्यता स्थान तथा सिंजा उपत्यका, कालिकोट, जुम्लाको सिमा तथा व्यापारीक केन्द्र नाग्मघाट लगायतका दर्जनौ स्थानमा हर्ट स्पोर्ट सञ्चालन हुने भएको छ ।

सदरमुकाम केन्द्रीत टेलिकमलाई धक्का
खलंगा बजारमा अवस्थीत नेपाल टेलिकमले हाल चन्दननाथ नगरपालिका केन्द्रीत इन्टरनेट सेवा दिइरहेको छ भने टेलिफोन सेवा सदरमुकाम केन्द्रीत छ । अहिलेसम्म नगरभित्रका १० वटै वडामा टेलिफोन सेवा पुग्न सकेको छैन । दुई एमवी क्षमता भएको नेपाल टेलिकमको इन्टरनेट सेवाले सेवाग्राही असन्तुष्ट भैरहेको अवस्थामा तीव्र गतिको सिम्पल नेटर्वकको इन्टरनेट सेवाले टेलिकमलाई ठुलो धक्का पुगेको छ ।
अहिले टेलिकमबाट केही स्थानीय र सरकारी तथा गैरसरकारी कार्यालय बाहेक अरु स्थानीय सेवाग्राहीले ल्याण्ड लाईन र इन्टरनेट सेवा प्राप्त गर्न सकिरहेका छैनन् । चन्दननाथ नगरपालिकाको ८ र ९ नम्बर वडामा पर्ने तलिउम, जातीभिड लगायतका गाउँमा टेलिफोन सेवा अझैं पुगेको छैन । इन्टरनेट समस्याका कारण स्थानीय तह गाउँपालिकामा बैकिङ सेवा शुरु गर्न समस्या भैरहेकोले सिम्पल नेटर्वकको इन्टरनेट सेवा विस्तारपछि स्थानीय तहमा बैकिङ सेवा शुरु गर्न सहज हुने भएको छ ।
हाल इन्टरनेट समस्या देखाउँदै जुम्लाका ग्रामीण भेगका गाउँपालिका अझै पनि इन्टरनेटसँग सम्बन्धीत महत्वपूर्ण कार्य सदरमुकामबाटै सम्पादन गरिरहेका छन् । तिला गाउँपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद धितालले स्थानीय तहमा इन्टरनेट र बैकिङ सेवा नभएकाले समस्या सदरमुकाम केन्द्रीत हुनु परेको बताए । केही सूचनाको जानकारी लिनुपर्ने अवस्था आएमा सदरमुकाम खलंगामै आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ माघ २०७४, बुधबार ०९:०९