बझाङ, । बझाङ जिल्ला सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार भएको छ । दुई सातादेखि सदरमुकाम चैनपुरमा खानेपानी नआउँदा हाहाकार भएको हो । सदरमुकामलाई लक्षित गरेर तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको काम भइरहेको छ ।
सदरमुकाम चैनपुरमा पाइप बिछ्याउने काम भइरहेको र खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा खानेपानीको समस्या भएको हो । लामो समयदेखि धारामा खानेपानी नआउँदा होटल व्यवसायी बढि मर्कामा परेका छन् । धारामा खानेपानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको दुषित पानी पिउन बाध्य छन् ।
धारामा पानी नआँउदा आफुहरुलाई सास्ती भएको एक होटल व्यवसायी हर्क बोहराले बताए । बोहराले भने, ‘लुगाकपडा धुन त जहिले पनि सेती र बाउलीखोला जान्थ्यौँ । अहिले त पिउने पानी पनि खोलाबाटै ल्याउनुपरेको छ । होटलमा आएका ग्राहकहरुलाई हातमुख धुन र चर्पीमा प्रयोग गर्नका लागि विहानै सबेरै उठेर पानी बोक्नुपर्छ ।’ धारामा पानी नआउदा आफुलाई निकै समस्या भएको बोहराले बताए ।
धारामा पानी नआउँदा होटल व्यवसायी मात्र नभई, सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएका र अध्ययनका लागि आएका विध्यार्थीहरुलाई निकै सास्ती भएको छ । सदरमुकाममा हरेक बर्ष खानेपानीको समस्या हुँदै आएको छ । कोठामा पानी नआउदा विहानै उठेर पालैपालो सेती नदीमा पानी ल्याउन जानुपर्ने बाध्यता भएको चैनपुरमा डेरा गरी बस्दै आएकी सत्यवादी मावि भोपुरमा अध्ययनरत छात्रा निशा बोहराको बताइन् ।
उनले भनिन्, ‘अघिल्लो महिनामा सम्म त दिनमा एक आधा घण्टा पानी आउथ्यो । दुई हप्ता भन्दा बढी भइसक्यो कसैले मतलब गरेका छैनन् । आफुहरु महिनावारी भएको बेला झन् समस्या हुने गरेको छ । सधैं खोलामा गएर चिसो पानीले नुहाउन सकिँदैन । यस्तो समयमा स्वास्थ्यको पनि ख्याल गर्नैपर्यो ।’ सदरमुकाममा पानी नआउँदा महिलाहरु बढी समस्यामा परेका छन् ।
सेती नदी र बाहुलीगाढ खोलाको दुषित पानी पिउँदा सदरमुकामवासीहरु बिरामीसमेत हुन थालेका छन् । फोहोर पानीका कारण जिल्ला अस्पतालमा पानीजन्य संक्रमणका बिरामीको संख्यामा बढदै गएको जिल्ला अस्पताल बझाङका प्रमुख डा.सन्दीप ओखेडाले बताए । ओखेडाले सदरमुकाम क्षेत्रका मानिसहरुमा पछिल्लो समय मौसम परिवर्तनसँगै स्वच्छ पानी पिउन नपाउँदा झाडापखाला, आँउ, ज्वरो, रुघाखोकी जस्ता विरामीको संख्या बढ्दै गएको बताए ।
चैनपुर–कुचा सडक निमार्णका क्रममा खानेपानीको पाइप काटिँदा सदरमुकाममा खानेपानीको समस्या आएको चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले जानकारी दिए । सदरमुकाममा दुईवटा मुहानबाट पानी आउँछ । ‘दुबै मुहानबाट आउने खानेपानीको लाइन तानिएकै ठाँउमा सडक निर्माण भइरहेकाले हामीले कार्यालयबाट तीन जना कर्मचारी खटाएका छौ । तर काम गर्न समस्या भएको छ । खानेपानीको पाइप जडान भइरहेकाले अब केहि दिनमा यो समस्या समाधान हुनेसमेत विष्टले जानकारी दिए ।
।