सूचनाको शक्ति - The Power Of Information

        

नेकपाभित्र तत्लोस्तरको आरोप–प्रत्यारोप

प्रचण्ड–नेपाललाई इङ्गित गर्दै इश्वर पोखरेलले भने, ‘सडकमा भुस्याहा कुकुरजस्तो कराउनेहरु !’

काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । शुक्रवार नेकपा ओली पक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षलाई चुनौती दिएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वासको प्रस्तावको डटेर सामना गर्ने उनको भनाई थियो । अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने पनि पोखरेलले स्पष्ट पारे । भने, ‘केपी ओली संसदको सर्वोच्चतालाई मान्छन् । केपी ओली संसदको सर्वोच्चतालाई मानेर त्यहाँ सामना गर्छन् । तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याउ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले ।’

संसदलाई सरकारले प्रक्रियामा लगिसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले अविश्वासको प्रस्ताव ल्याउन हाँकसमेत दिए । ‘म यहाँहरुलाई के भन्न चाहान्छु भने हामी त्यो कार्यान्वयन गर्छौ भनेको अर्थ के हो भने संसद बोलाउने कुराको हामी प्रक्रियामा अगाडी बढ्छौ, संसदको सामना गर्छौ । कसको हिम्मत छ? अविश्वासको प्रस्ताव ल्याउ, त्यसको डटेर हामी सामना गर्छौं । त्यो अविश्वासको प्रस्तावको सामना गर्दा जे परिणाम हुन्छ, त्यसलाई स्वीकार गर्छौ । यो सबैले बुझे हुन्छ ।’

उपप्रधानमन्त्री पोखरेलले केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पारे । संसदमा अविश्वासको प्रस्तावको सामना गरेर लोकतन्त्र प्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने उनको दाबी छ । सडकमा भुस्याहा कुकुरजस्तो कराउनेहरुले नारा लगाउँदैमा प्रधानमन्त्री ओली आफ्नो जिम्मेवारीबाट नपन्छिने उनको भनाई थियो ।

पोखरेलले भने, ‘केपी ओलीले बिचमै छोड्छन् कि, यस खालका कुराहरु तपाईहरुलाई लागेको हुनसक्छ । म केपी ओलीको सरकारको टिमको एउटा जिम्मेवार मन्त्री भएको नाताले म तपाईहरुलाई पूर्ण जवाफदेहिताका साथ भन्न चाहान्छु । केपी ओली लोकतन्त्रमा विश्वास गर्ने, संस्थागत ढंगले, लोकतान्त्रिक ढंगले गरिएका अभ्यासहरुमा विश्वास गर्ने व्यक्ति भएको हुनाले संसदको सामना गर्नुहुन्छ । संसदको सामना गरेर नेपाली जनता समक्ष आफ्नो लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई फेरी एकपटक प्रमाणित गर्नुहुन्छ । तर, सडकमा भुस्याहा कुकुरजस्तो कराउनेहरुले नारा लगाउँदैमा केपी ओलीले आफ्नो जिम्मेवारीबाट कहिल्यै पनि पन्छिनु हुनेछैन । यो चिज म तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु ।’ नेपाल न्युज एजेन्सी

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार ११:४३