सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार खाशोग्गीको हत्याबारे गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्याबारे गरिएको अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो रिपोर्टमा पत्रकार खाशोग्गीको हत्यामा साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई जिम्मेबार ठहर गरिएको शंका गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइेडनले पत्रकार खाशोग्गीकोे रिपोर्ट पढेर यसबारेमा साउदी अरबका राजा सलमानसँग टेलिफोन कुराकानी गरेका छन् ।

कुराकानीको क्रममा राष्ट्रपति बाइडेनले अमेरिका आफ्ना पूराना मित्र राष्ट्रसँग नयाँ ढंगले सम्बन्ध अगाडी बढाउन चाहेको बताएको बीबीसीले जनाएको छ । साउदी अरब र अमेरिकाबीचको सम्बन्धलाई नयाँ ढंगले अगाडी बढाउनुपर्ने बाइडेनको मत रहेको ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल ट्रम्पको समयमा अमेरिका र साउदी अरब नजिकिएका थिए । पत्रकार खाशोग्गीको अक्टुबर २०१८ मा टर्कीको साउदी वाणिज्य दूतावासभित्र हत्या गरिएको थियो र मृत शरीरलाई क्षतविक्षत गरिएको थियो ।

तर साउदी युवराजले यस घटनामा कुनै पनि रुपमा संलग्न रहेको आरोपलाई अस्वीकार गरेका छन्। खाशोग्गीलाई साउदी शासकको आलोचकका रुपमा हेरिन्थ्यो ।

यस घटनामा साउदी अरबको अदालतले पाँच जनालाई मृत्यु दण्डको फैसला सुनाएको भए पनि पछि २० वर्षको जेल सजायमा बदलिएको छ ।

एजेन्सी

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार ०७:५२