रेनुका गिरी । बुटवल । तिलोत्तमा नगरपालीका–२ की सबिता खरेलकी आमा जब मेकओभरका लागि पार्लर जान्थिन् । उनी साथमा सँगै छोरीलाई पनि लिएर जान्थिन् । सबिताले पार्लरमा आमाले थ्रेडिङ्ग, बेक्सिङ, मेनिक्योर आदि गराएको ध्यान दिएर हेर्थिन् । जव सबिता १३ वर्षकी भइन् । आफ्नो जन्म दिनमा उनले आफ्नी आमासँग थ्रेडिङ्ग गराउन अनुरोध गरिन् । आमाले हाँस्दै उनलाई ब्यूटीपार्लर पुर्याइन र अरु तिमीलाई के के गराउने इच्छा छ भन्दै गराउन अनुरोध गरिन् । जव उनी पूर्ण मेकअपसहित देखा परिन्, उनी सबै दृष्टिकोणबाट १३ वर्षकी बालिका देखिन्नथिन् ।
यस्तै तिलोत्तमा नगरपालीका–२ की १४ बर्षिया अस्मिता भण्डारी तिलोत्तमा नगरपालीका–१ मा रहेको बसन्ती ब्यूटीपार्लरकी नियमित ग्राहक हुन् । उनी पार्लरमा थ्रेडिङ्ग, बेक्सिङ गर्छिन् । उनीहरुको उमेरका अधिकांश बालिकाले आफ्नो आँखी भौँ थ्रेडिङ्ग गरी चिटिक्क पारेका छन् । केश पनि ब्लीच गरी रंगीन बनाएका छन् । आजभोली अधिकांश स्कुले बालिकाको खवर यस्तै छ । सबिता पनि त्यसैको हिस्सा बन्न चाहन्छिन् । बालिका वा किशोरी जो चाडैँ महिलामा परिणत हुन उत्सुक देखिन्छन् । जवान देखिने उनीहरुको चाहना थ्रेडिङ गरिएका आँखी भौँ, मिलाइएको हेयर स्टाइल, नेल पोलिसले आकर्षक देखिएका मेनिक्योर गरिएका लामा नङहरुले संकेत गर्दछ ।
१४–१५ वर्षका टिनएजर पनि आफ्नो फेसनेवल र स्टाइलिस देखिने चाहनामा पेडेड ब्रा तथा जिन्सभित्र फिटेड हिप प्याड पेन्टी लगाएको देख्न सकिन्छ । यी सामान आवश्यक नभएर रुचीका हुन्, जसको प्रयोगले शरिर उनीहरुको चाहना अनुरुप नै हेभी देखिन्छ । मेकअपको आफ्नै आकर्षण छ । ग्लिटर आइलाइनरले सजिएको परेला, साइनी आइस्याडो तथा गाढा रंगको मस्काराले यी किशोरीका मुहारलाई मेच्योर लुक दिएर ठूली देखाउने चाहनालाई पूर्णता प्रदान गर्दछ । कम उमेरका किशोरीहरुमा आफ्नो उमेरभन्दा पहिले नै वयस्क देखिने होडबाजी छ । यसमा उनीहरुका आमाको पनि पूर्ण सहयोग हुन्छ । आमाहरुलाई आफ्नी छोरी आफूभन्दा बढी फेसनेवल र मोर्डन स्टाइल्सका बारेमा जानकार भएको मनपर्छ ।
बसन्ती ब्यूटीपार्लरकी बसन्ती गिरीका अनुसार पहिले १८ वर्षका किशोरीहरु बेक्सिङ–थ्रेडिङ्ग गराउन ब्यूटीपार्लर आउँथे । विस्तारै १६–१५ वर्षका पनि आउन थाले । अहिले १४–१३ वर्षका बालिका पनि आउन थालेका छन् । अहिले उनको पार्लरमा दर्जन बढी किशोरी बेक्सिङ–थ्रेडिङ्गका ग्राहक छन् । समाजशास्त्री तथा शिक्षावीद् डा.गितु गिरीका अनुसार किशोरावस्थामा यी युवतीहरु सुन्दर एवम् आकर्षक देखिने चाहनामा तनावबाट गुज्रिरहेका हुन्छन् । यसको अर्थ हुन्छ, यौनिक देखिनु, ब्वाइफ्रेण्ड बनाउनु । उनीहरु यी सबै कुराको दुस्परिणामबाट अवगत हुँदैनन् ।
उनले भनिन्, ‘आमाबुवाले नै समय र अवस्था हेरेर सामाजिक परिवेश, प्रकृति तथा यौनका बारेमा बालबालिकालाई सही जानकारी दिनुपर्छ । छोरीलाई प्रेम, सोन्दर्य एवम् यौनका विषयमा पनि ज्ञान दिनु पर्छ । छोरीका साथमा बसेर टिभी र फिल्ममा देखिने, देखाइने यौनजन्य दृश्यहरुको वास्तविकताका सम्बन्धमा जानकारी गराउनुपर्छ । छोरीहरु कहाँ जान्छन्, के गर्छन्, उनीहरुका साथीसंगीहरु कस्ता छन्, घरमा कतिबेला आउँछन् ध्यान पुर्याउनुपर्छ । इन्टरनेटमा उनीहरु के सर्च गर्दैछन् भन्ने पनि बुझ्न आवश्यक छ । उनीहरुको शारीरिक, मानसिक एवम् सामाजिक विकासका साथै अनुशासनका बारेमा पनि सचेत हुन जरुरी छ ।’
तीब्ररुपमा अघि बढ्दै गएको असुरक्षित यौन सम्बन्धको खतरा एवम् परिणामका बारेमा अवगत गराई उनीहरुलाई अध्ययन, करियर एवम् आत्मनिर्भरतातर्फ प्रेरित गर्नुपर्ने डा.गिरीको भनाई छ । सही वा गलत कुराका सम्बन्धमा स्पष्ट ज्ञान दिएर उनीहरुलाई स्वयम् आफ्नो निर्णय लिन लायक बनाउनु अभिभावकको दायित्व भएको उनी बताउँछिन् । बालिकाहरु आफ्नो वरिपरी जे देख्छन् त्यसैलाई अपनाउन चाहन्छन् । फेसन र मेकअपका बारेमा जानकारी राख्नुपर्छ तर आफ्नालागी ठिक बेठीक पनि बुझ्न जरुरी छ ।
बालबालिकाहरुलाई चाहिनेभन्दा बढी पकेट मनि प्राप्त भैरहेको छ भने उनीहरुले कहाँ खर्च गर्छन भन्ने जानकारी लिनु पनि आवश्यक छ । आमाबावुले बचत गर्न सिकाउनुपर्छ । पैसाको मुल्य र महत्वका विषयमा अवगत गराउनुपर्छ । आमाबावुले छोराछोरीलाई टिभीमा मात्र नभई घरेलु कामकाज, पारिवारिक जमघट एवम् विवाह, भोज आदिमा पनि सक्रिय बनाउनुपर्छ । उनीहरुलाई सामाजिक, धार्मिक, साँस्कृतिक एवम् रीतिरिवाजसित पनि परिचित गराउनुपर्दछ । यसका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ ।
।