सूचनाको शक्ति - The Power Of Information

        

संसद पुनःस्थापना

प्रचण्ड–माधव समूहले विजय जुलुस निकाल्दै, आजै संसदीय दलको बैठक बोलाइयो

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको स्वागतमा प्रचण्ड–माधव समूहको नेकपाले आज देशव्यापी विजय जुलुस निकाल्दैछ । केन्द्रीय संघर्ष समितिको आयोजनामा दिउँसो १२ बजे काठमाडौंको शान्तिबाटिकामा विजय जुलुस निकाल्न लागिएको समितिकी सहसंयोजक पम्फा भुषालले जानकारी दिइन् ।

उनका अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालपनि कार्यक्रममा सहभागी हुने सम्भावना छ । उनीहरु दुवै जना चितवनमा रहेको र काठमाडौं फर्कन लागेको भुषालले बताइन् । प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी सभा र प्रदर्शनमा रहेको प्रचण्ड–माधव समूहको नेकपाले आज चितवनमा आमसभा आयोजना गरेको थियो ।

हिजो सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि सभा स्थगित गरेर अध्यक्षद्वय काठमाडौं आउन लागेका हुन् । उनले देशभर जिल्ला सदरमुकाममा पनि अनुकुल समयमा विजय जुलुस निकालिने बताए । यसैबीच, सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि प्रचण्ड–माधव समूहको नेकपाले आज संसदीय दलको बैठक बोलाएको छ ।

बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्नेछ । बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने नेतृ पम्फा भुषालले बताइन् । यो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा गत पुस ५ गते नै अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ । अविश्वासको प्रस्ताव दर्ता भएपनि काँग्रेसले सहयोग नगरेसम्म पास हुने अवस्था छैन ।

अहिलेको अविश्वास प्रस्तावमा अध्यक्ष प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ । यसो हुँदा कांग्रेसले साथ दिन नसक्ने भएकाले यसलाई फिर्ता लिएर काँग्रेससँगको सहमतिमा अर्को अविश्वास प्रस्ताव लैजाने विकल्पमा पनि नेकपाले छलफल गर्न सक्ने बुझिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक ठहर गरेको सर्वोच्चले १३ दिन भित्र संसद बैठक बोलाउन पनि आदेश दिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार ०८:५३