हुम्ला । विद्यालयमा नियुक्त लेखापालको काम के हो ? उत्तर सजिलो छ विद्यालयको हिसाव किताब राख्ने । तर, खार्पुनाथ स्थित मान्धारा माध्यमिक विद्यालयकी लेखापाल मनिषा शाहीको काम यत्तिमा सकिँदैन । विहान साढे नौ बज्नु अघि नै कार्यालय देखि कक्षाकोठा बढार्ने र विद्यालय प्राङ्गण सफा गर्ने काम सक्छिन् उनी ।
सवै कक्षा कोठा चिटिक्क पारेपछि विद्यार्थीका लागि फिल्टरमा पिउने पानीको वन्दोबस्त गर्छिन् । शौचालयको अवस्था यकिन गरेपछि एक नजर विद्यालयको करेसाबारी र फुलवारी तिर पनि लगाउँछिन् । लेखा राख्ने आफ्नो मुख्य काममा हिजो के कस्तो भयो ? आज के गर्नु छ ? हेक्का राख्ने काम पनि सक्छिन् । यति गर्दा गर्दै विद्यार्थी आईपुग्छन् । केही बेरमा सबै शिक्षकहरु पनि आईपुग्छन् ।
घण्टी लाग्छ, विहानी प्रार्थना सकेपछि कक्षा शुरु हुन्छ । कक्षा ६ र ७ मा प्रत्येक दिन ४ पिडियर पनि लिन्छिन् । शिक्षक कम भएका प्रायजसो सामुदायिक विद्यालयका लेखापालले कक्षा समेत लिन्छन् यो नौलो कुरा हैन, नौलो कुरा त के हो भने मनिषा कक्षा मात्रै लिन्नन् विद्यालयको सर्वाङ्गिण विकासमा ध्यान दिन्छिन् ।
विद्यालयमा भएको परिवर्तनको चित्रमा उनको योगदानको मुक्त कण्ठले प्रशंसा गर्छन् विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र शाही । त्यसैले ब्यवस्थापन समितिले थप ४ हजार आन्तरिक श्रोतबाट ब्यवस्थापन गर्ने गरी मासिक १२ हजार तलब पुर्याएको उनले बताए । ‘लेखापालको रुपमा उनले गर्ने काममा कहिल्यै गुनासो गर्नु परेन’ उनले भने ’आफ्नो जिम्मेवारी बाहेक विद्यालयलाई राम्रो बनाउन मनिषा मिसको योगदान ठूलो छ ।’
विद्यालयको हातामा रहेको जग्गामा फूलबारी बनाउने, त्यसमा आवश्यक गोडमेल गर्ने, पानी हाल्ने, जस्ता स्याहार सुसार उनैले गर्छिन् । उनी आउनु अघि एउटा पनि विरुवा नभएको विद्यालयमा चार वर्षको अन्तरालमा २० वटा रुख हुर्कीएका छन् । बगैंचा र रुखको स्याहारा सुसारमा उनी विद्यार्थीलाई पनि सहभागी गराउँछिन् । देख्दा सानो लाग्ने यही कामबाट विद्यार्थीलाई प्रकृतीको महत्व बुझाउन पनि सफल हुन्छिन् ।
विद्यार्थीलाई खेलाउँदै पढाउने उनको काईदा विज्ञान प्रयोगशालामा प्रमाणित भएकोमा प्रधानाध्यापक दिलबहादुर शाही दंग छन् । ‘एकदिन मनिषा मिसले मलाई कक्षा १० को विज्ञान किताव हेरेर प्रयोगशामा सावुन समेत वनाएर देखाउनु भयो,’ प्रअ शाहीले भने, ‘बर्षौ पढाएका स्थायी शिक्षकलाई विषयको पाठ्क्रम र ग्रीड थाहा नहोला तर मिसलाई कण्ठै छ ।’ उक्त कुरा गएको वार्षिक परीक्षामा प्रश्नपत्र निर्माण गर्दा आफूले थाह पाएको प्रअ शाही बताउँछन् ।
विद्यालयले आयोजना गर्ने अतिरिक्त कार्यकलापमा उनको सकृयताले आफूहरुलाई लोभ लाग्ने शिक्षक परेग बहादुर शाहीले बताए । ‘हुन त हाम्रो हेडसर आफैं पनि कुचो समाउनु हुन्छ, त्यो देखेपछि हामी पनि त्यसै बस्नै सक्दैनौं,’ उनले भने, ‘मनिषा मिस त निकै फरक हुनुहुन्छ, उहाँको सोचाईमा विद्यालय भन्दा अरु थोक केही छैन जस्तो लाग्छ ।’ त्यसैले पछिल्लो समय विद्यालय निकै गतिलो हुँदै गएको शिक्षक शाही दावी गर्छन् ।
‘चार बजेको घण्टीको पर्खाइमा अधिकांश शिक्षकहरु बाटोमा रिले दौडको तयारी पोजिसनमा हुन्छन् । उनको काम भने शिक्षकहरुले वस्न लगेका कुर्चि थन्काउने, कक्षा कोठामा विद्यार्थीले अस्तव्यस्त गरेका सामान मिलाउने, कक्षा कोठा तथा शौचालय बन्द गर्ने र आफ्नो मुख्य जिम्मेवारी लेखा व्यवस्थापनको काम सक्ने हुन्छ,’ प्रअ शाहीले भने ।
उनका अनुसार २४ हजारदेखि ५२ हजारसम्म मासिक तलव पाउने थर्ड क्लास देखी फष्ट क्लास सम्मका शिक्षकहरु छन् । उनले भने, ‘उहाँहरुले विद्यालयलाई दिने भनेको कक्षा कोठाको कितावि पढाई मात्रै हो । किताव सकियो कोर्ष पुरा भयो भन्दै मक्ख हुन्छन् । तर मासिक १२ हजार मात्र पाउने मनिषा मिस भने नियमित विद्यालय आउने मात्र हैन सकेको सवै आफैँ गर्छिन् ।’ शिक्षकको काम पढाउने मात्र हो भन्नेहरुका लागि मनिषा चूनौति भएकी प्रअ शाहीको निश्कर्ष छ ।
मनिषाको कार्य देखेपछि काम गर्न मजबुत पारिश्रमिक, सञ्चयकोष, विमा, पेन्सन सहितको स्थायीे आवश्यक हुन्छ भन्ने हैन रैछ जस्तो लाग्न थालेको उनका सहकर्मी शिक्षकहरुले निष्कर्श निकालेका छन् । ‘काम गर्न त मनमा तिव्र इच्छा शक्ति अनि पुर्ण समर्पण आवश्यक हुने रहेछ,’ प्रअ शाही भन्छन्, ’उनैले गर्दा पछिल्लो समयमा काम गर्ने आदत र इच्छा नहुँदा नहुँदै पनि कतिपय सरहरु विगतको भन्दा काममा निकै लागिपरेको मैले पाएको छु ।’ यही विद्यालयबाट एसएलसी पास मनिषा सिमकोट स्थित मानसरोबर क्याम्पसमा आईए पढेर सकेपछि आफ्नै गाउँ फर्केकी हुन् ।
अहिले स्नातकको तेश्रो बर्ष अध्यनरत मनिषा आफैंले कक्षा १० सम्म पढेको विद्यालयलाई राम्रो बनाउन पाउँदा खुसी भएको बताउँछिन् । ‘आफैंले पढेको विद्यालय राम्रो बनाउन पाउँदा मलाई खुसी लागेको छ, सबै सर मिस र विद्यार्थीले सघाएका कारण यत्ति गर्न सकेको हो,’ विद्यालयमा भएको परिवर्तनको जस आफू मात्रै लिन नचाहेको बताउने मनिषा भन्छिन् । आफू विद्यालयमा आउँदा सय जना पनि विद्यार्थी नभएको बताउँदै उनले भनिन्, ‘६ वटा मात्रै रजिष्टर थियो, सबै मिलेर विद्यालय सुधार गर्दैछौं ।’
शैक्षिक सुधार गर्न आवश्यक श्रोतको जोगाडका लागि देउसी भैलो खेल्ने, चन्दा सहयोग उठाउने गरेर अहिले त्यो क्षेत्रमै राम्रो प्रगती गरेको विद्यालयका रुपमा स्थापित भएको छ । आधारभुत आवश्यकताका वन्दोवस्ति सामान, मल्टिमिडिया शिक्षण, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्यूटर ल्यावले शैक्षिक उपलब्धि उकालो लाग्दै छ । विद्यालयमा विद्यार्थी संख्या बढ्दो छ, माविमा १२० र प्राविमा ११० विद्यार्थी रहेको अध्यक्ष शाहीले बताए । विद्यालयमा भएको प्रगतीले नै टाढा टाढाबाट समेत विद्यार्थी आउन थालेका छन् । झण्डै डेढ घण्टा पैदल दुरीमा रहेका ताग्ला, दुर्पा जस्ता गाउँबाट पनि विद्यार्थी आएका छन् मान्धारामा ।
।