सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी अभियान

ध्वनि प्रदूषण गर्ने ई–रिक्सा र मोटरसाइकल कारबाहीमा

बाँके । नेपालगन्जका सडकमा गुड्ने अधिकांश ई–रिक्सा र मोटरसाइकलले ध्वनि प्रदूषण गर्न थालेपछि त्यस्ता सवारीसाधनलाई प्रहरीले कारबाही सुरु गरेको छ । नगरका मूख्य सडकमा आमनागरिकलाई असहज बनाउने खालका नकारात्मक ध्वनि निकाल्ने तथा बजाउने क्रम बढेपछि प्रहरीले त्यसविरुद्ध अभियान थालेको हो ।

ई–रिक्सामा बजाउने गरिएका ठूला स्वरका गीत तथा अन्य ध्वनिका कारण धेरै पटक दुर्घटनासमेत भएको प्रहरीको भनाइ छ । ध्वनि प्रदूषणले रिक्सामा बस्ने र वरिपरिका अरू व्यक्तिलाई समेत बाधा पर्ने गरेकाले त्यसलाई पूर्णरूपमा नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले मनपरी तरिकाले ई–रिक्सामा बाजा बजाउने तथा मोटरसाइकलको साइलेन्सर मोडिफाइ गरी ठूलो आवाज निकाल्नेविरुद्ध सो अभियान सुरु गरिएको बताए । उनले सो अभियानअन्तर्गत प्रहरीले हालसम्म १० वटा मोटरसाइकल र ४० भन्दा बढी ई–रिक्सालाई नियन्त्रणमा लिई कारबाही गरिसकेको बताए ।

सो अभियान निरन्तर जारी रहेको प्रहरी प्रमुख रानाको भनाइ छ । प्रहरीले नियन्त्रणमा लिएका ई–रिक्साका साउन्ड बक्स तथा स्पिकर निकालेर अर्को पटक यस्तो गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिई छाडिएको जनाएको छ । त्यस्तै मोटरसाइकल चालकलाई साइलेन्सर ठीक गराउन लगाई पहिलो पटक छाडिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

नेपालगन्जलाई हर्न निषेधित क्षेत्र घोषणा गरिए पनि सो कार्यान्वयन नगरिँदा सडकमा ध्वनि प्रदूषण बढिरहेकै बेला ई–रिक्सा र मोटरसाइकल ठूलो स्वरमा आवाज निकालेर चलाउन थालेका छन् । ट्राफिक प्रहरी कार्यालय बाँकेले पनि यसअघि ध्वनि प्रदूषणविरुद्धको अभियान थालेको थियो तर सो अभियानलाई बीचमै छाडेपछि सहरमा फेरि ध्वनि प्रदूषण बढ्दै गएको छ ।

वडा प्रहरी कार्यालयले दिएको जानकारीअनुसार वडाबाट खटिएको प्रहरी टोलीले नेपालगन्जका विभिन्न स्थानबाट हालसम्म ४० वटा ई–रिक्सा र १० वटा मोटरसाइकललाई ध्वनि प्रदूषण गरेकामा नियन्त्रणमा लिएर पहिलो कारबाही गरेर छाडिएको छ । प्रहरीको एक टोलीले ई–रिक्सा र मोटरसाइकलमाथि विशेष निगरानी राखिरहेको पनि सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार ०६:२१